इजिप्टको विश्वकप खेल्ने टोलीमा बार्सिलोनाका खेलाडी

काठमाडौं। इजिप्टले आगामी विश्वकपका लागि प्रारम्भिक २७ सदस्यीय टोली घोषणा गरेको छ। बार्सिलोनाको ‘बी’ टोलीका युवा स्ट्राइकर हम्जा अब्देलकरिमलाई पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गरिएको छ।
रुसविरुद्ध मे २८ मा हुने मैत्रीपूर्ण खेलपछि यस प्रारम्भिक टोलीबाट एक खेलाडी बाहिरिनेछन्। हम्जासँगै पहिलोपटक राष्ट्रिय टोलीमा बोलाइएका अन्य खेलाडीमा मोस्तफा जिको र अक्टाय अब्दुल्लाह छन्। टोलीमा इजिप्टका मुख्य स्टार मोहम्मद सलाह र ओमर मारमुश पनि समावेश छन्।
यसपटक टोलीमा एल-माहदी सोलिमानले पनि स्थान बनाएका छन्। उनले जामालेकबाट यस सिजन देखाएको उत्कृष्ट प्रदर्शनको पुरस्कारस्वरूप टोलीमा अवसर पाएका हुन्। तर जामालेककै गोलरक्षक मोहामेद आवाद र मोहामेद सोभी भने यसपटक टोलीमा अटाउन सकेनन्।
यद्यपि उनीहरू यसअघि विश्वकप छनोट चरणको टोलीमा थिए। साथै मोस्तफा मोहामेदलाई उनको क्लब एफसी नान्त फ्रेन्च लिग वानबाट रेलिगेसनमा परेपछि टोलीबाट बाहिर राखिएको छ।
इजिप्ट विश्वकपको समूह ‘जी’ मा परेको छ। यस समूहमा उनीहरूसँग बेल्जियम, इरान र न्युजिल्यान्ड रहेका छन्। विश्वकपअघि मिशरले ब्राजिलसँग मैत्रीपूर्ण खेल पनि खेल्नेछ। विश्वकपमा मिशरको पहिलो खेल जुन १६ मा बेल्जियमविरुद्ध हुनेछ। त्यसपछि उनीहरूले न्युजिल्यान्ड र इरानको सामना गर्नेछन्।











-1787756317261.jpeg&w=3840&q=75)


