लोपेजले घरैबाट हेर्ने भए विश्वकप

काठमाडौं। स्पेनका युवा मिडफिल्डर फर्मिन लोपेज आगामी महिना हुने विश्वकप गुमाउने भएका छन्। बुधबार उनले आफ्नो खुट्टाको शल्यक्रिया सफल भएको पुष्टि गर्दै प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएका हुन्।
बार्सिलोनाका मिडफिल्डर लोपेज आइतबार रियल बेटिसविरुद्ध ३–१ को घरेलु जितका क्रममा घाइते भएका थिए। परीक्षणपछि उनको दायाँ खुट्टाको पाँचौं ‘मेटाटार्सल’ हड्डी भाँचिएको पुष्टि भएको थियो। त्यसपछि क्लबले शल्यक्रिया आवश्यक रहेको जनाएको थियो।
इन्स्टाग्राममार्फत लोपेजले लेखेका छन्, ‘शल्यक्रिया राम्रोसँग सम्पन्न भयो। अब म शारीरिक र मानसिक रूपमा अझ बलियो भएर फर्किने प्रतीक्षामा छु। कहिलेकाहीँ जीवन र फुटबल अप्रत्याशित रूपमा कठोर बन्न सक्छ।’
उनले थपे, ‘यो मेरो लागि निकै कठिन समय हो। तर यो मेरो करिअरको अर्को चुनौती पनि हो, जसलाई म पार गर्नेछु भन्नेमा विश्वस्त छु। अब घरबाटै राष्ट्रिय टोली र आफ्ना साथीहरूलाई समर्थन गर्ने समय आएको छ।’
लोपेजले यस सिजन बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सबै प्रतियोगितामा १३ गोल गर्नुका साथै १७ असिस्ट दिएका थिए। उनको प्रदर्शनमा बार्सिलोनाले ला लिगा र स्पेनिस सुपर कप उपाधि जितेको थियो।
युरोपियन च्याम्पियन स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘एच’ मा रहेको स्पेनले त्यसपछि साउदी अरेबिया र उरुग्वेसँग खेल्ने तालिका छ।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले सोमबार विश्वकप टोली घोषणा गर्ने तयारी गरेका छन्।











-1787756317261.jpeg&w=3840&q=75)


