विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

काठमाडौं। पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको छैटौं तथा सम्भावित अन्तिम विश्वकप खेल्ने तयारी गरिरहेका छन्। यो विश्वकप विशेष हुनेछ।
किनभने सन् २०२२ मा उनले युरोप छोडेर साउदी अरबको क्लब अल–नासरमा आबद्ध भएपछि हुने पहिलो विश्वकप यही हो।
रोनाल्डोको साउदी जाने निर्णयले फुटबल जगतलाई चकित बनाएको थियो। धेरैले कमजोर प्रतिस्पर्धा भएको लिगमा खेल्दा उनको प्रदर्शन खस्किने अनुमान गरेका थिए।

तर, ४१ वर्ष पुगेका रोनाल्डोले ती सबै आलोचनालाई आफ्नो प्रदर्शनमार्फत जवाफ दिएका छन्। उनले क्लब र राष्ट्रिय टोली दुवैका लागि लगातार गोल गरिरहेका छन्।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजका अनुसार रोनाल्डोमा अझै पनि उस्तै भोक र समर्पण देखिन्छ। ‘सबै कुरा जितिसकेपछि पनि उनको खेलप्रतिको उत्साह असाधारण छ। राष्ट्रिय टोलीमा नाम मात्र होइन, वर्तमान प्रदर्शनले स्थान सुनिश्चित गर्नुपर्छ। त्यसैले रोनाल्डो अझै पनि टोलीका लागि महत्त्वपूर्ण छन्,’ उनले भने।
रोनाल्डो र उनका लामो समयका प्रतिद्वन्द्वी लिओनल मेसी दुवैले सम्भावित रूपमा छैटौं विश्वकप खेल्दै इतिहास रच्नेछन्। रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल (२२६) र गोल (१४३) गर्ने खेलाडी हुन्। साथै, उनी पाँच फरक विश्वकपमा गोल गर्ने एकमात्र पुरुष खेलाडी पनि हुन्।

सन् २०२२ मा म्यानचेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले वार्षिक करिब २० करोड डलर पारिश्रमिकमा अल–नासरसँग सम्झौता गरेका थिए। त्यसबेला उनले ‘युरोपमा आफ्नो काम सकिएको’ र नयाँ चुनौती खोजिरहेको बताएका थिए।
साउदी लिगलाई लिएर आलोचना भइरहे पनि रोनाल्डोले बारम्बार यसको बचाउ गरेका छन्। उनले साउदी लिग फ्रान्स र पोर्चुगलको लिगभन्दा राम्रो रहेको दाबी गरेका छन्। ‘संख्याले कहिल्यै झुट बोल्दैन,’ उनले एक अन्तर्वार्तामा भनेका थिए,‘स्पेनमा भन्दा साउदी लिगमा गोल गर्न कठिन छ।’
साउदी गएपछि पनि उनको अन्तर्राष्ट्रिय प्रदर्शन कमजोर भएको छैन। पछिल्ला ३० खेलमा उनले पोर्चुगलका लागि २५ गोल गरेका छन्। सन् २०२५ मा उनले यूईएफए नेसन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। फाइनलमा स्पेनविरुद्ध पनि गोल गरेका थिए।

शारीरिक रूपमा पनि रोनाल्डो अझै उत्कृष्ट अवस्थामा छन्। फेब्रुअरीमा ह्यामस्ट्रिङ चोट लागे पनि उनी छिट्टै फर्किएका थिए। मे ७ मा उनले साउदी प्रो लिगमा आफ्नो १००औं गोल पूरा गरेका छन्। उनले यो उपलब्धि १०५ खेलमा सम्भव बनाएका हुन्।
उनका टोली साथी जोआओ फेलिक्सले भने,‘४० वर्षको उमेरमा पनि उनले गरिरहेको प्रदर्शन हामी सबैका लागि प्रेरणा हो।’ रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप हुने संकेत गरिसकेका छन्।
तर, उनले कहिलेसम्म खेल्ने भन्नेबारे अझै स्पष्ट छैन। प्रशिक्षक मार्टिनेज पनि भविष्यवाणी गर्न चाहँदैनन्। उनका भन्छन्,‘रोनाल्डो आजको दिनमा आफूलाई उत्कृष्ट बनाउने लक्ष्यमा मात्र केन्द्रित छन्। उनी भविष्यका योजना बनाउँदैनन्।’










-1778676153265.jpeg&w=3840&q=75)

