अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

काठमाडौं। रियल मड्रिडले आफ्ना खेलाडी फेडेरिको भाल्भेर्दे र ओरेलियन टचुआमेनीलाई अभ्यासका क्रममा भएको झगडापछि शुक्रबार जनही पाँच लाख युरो (करिब ५ लाख ८८ हजार अमेरिकी डलर) जरिवाना गरेको छ।
यो कारबाही प्रशिक्षणका क्रममा दुई मिडफिल्डरबीच भएको विवादपछि गरिएको हो। भाल्भेर्देले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले मुक्का प्रहार नभएको बताएका थिए। झगडाका क्रममा उनी टेबलमा ठोक्किँदा टाउकोमा सामान्य चोट लागेको र उपचारका लागि अस्पताल जानुपरेको बताइएको छ।
घटनापछि क्लबले दुवै खेलाडीमाथि अनुशासनात्मक अनुसन्धान सुरु गरेको थियो। क्लबका अनुसार यस घटनाले टोलीको प्रतिष्ठामा नकारात्मक असर पारेको भन्दै जरिवाना गरिएको हो।
क्लबले विज्ञप्तिमा दुवै खेलाडीले घटनाप्रति पश्चाताप व्यक्त गर्दै एकअर्कासँग माफी मागेको जनाएको छ। साथै, क्लबले उचित ठानेको जुनसुकै अनुशासनात्मक कारबाही स्वीकार गर्न तयार रहेको बताएका छन्।
टचुआमेनी शुक्रबार पुनः टोलीको प्रशिक्षणमा फर्किएका छन्। अब रियलले आइतबार बार्सिलोनाविरुद्ध ‘एल क्लासिको’ खेल खेल्नेछ। यदि रियल पराजित भएमा बार्सिलोनाले ला लिगा उपाधि जित्नेछ।
भाल्भेर्दे भने टाउकोमा लागेको चोटका कारण प्रशिक्षणमा सहभागी भएनन्। स्पेनी सञ्चारमाध्यमका अनुसार पछिल्ला केही दिनदेखि प्रशिक्षणमा दुवै खेलाडीबीच तनाव बढिरहेको थियो। क्लबले प्रशिक्षक जाबी अलोन्सोलाई केही महिनामै पदमुक्त गर्ने निर्णयप्रति उनीहरूबीच मतभेद रहेको खबर पनि बाहिरिएको छ।
रियल लगातार दोस्रो सिजन ठूलो उपाधिविहीन बन्ने अवस्थामा पुगेको छ। जनवरीमा अलोन्सो बर्खास्त भएपछि रिजर्भ टोलीबाट मुख्य प्रशिक्षकमा बढुवा भएका आल्भारो अर्बेलोआले शनिबार हुने पत्रकार सम्मेलनमा टोलीभित्रको अवस्थाबारे प्रश्नहरूको सामना गर्नुपर्नेछ।





-1778235936203.webp&w=3840&q=75)





