आर्सनलका २४ वर्षीय नायक साका

काठमाडौं। आर्सनलले पछिल्लो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको बेला बुकायो साका क्लबको एकेडेमीमा आबद्ध हुन अझै चार वर्ष बाँकी थियो।
उनै साका ८ वर्षको उमेरमा आर्सनलमा आबद्ध भएका थिए। उनै साकाले आफ्नो क्लबलाई फेरि युरोपको सबैभन्दा ठूलो मञ्चको फाइनलमा पुर्याएका छन्।
मंगलबार भएको खेलमा साकाले एक मात्र गोल गर्दै आर्सनललाई एट्लेटिको मड्रिडविरुद्ध १–० को जित दिलाए। समग्रमा २–१ ले जित्दै आर्सनल २००६ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। यो आर्सनलको इतिहासमा दोस्रोपल्ट मात्र फाइनल हो।
खेल सकिएपछि उनले उत्सव छोडेर टिभी अन्तर्वार्ता दिन मन नगर्नु स्वाभाविक थियो। ‘तपाईंले मलाई उत्सवबाट टाढा लग्दै हुनुहुन्छ,’ साकाले हाँस्दै भने,‘यो क्षण धेरै सुन्दर छ। यसले हामी र समर्थकहरूका लागि कति महत्व राख्छ भन्ने देखिन्छ। हामी अत्यन्त खुसी छौं।’
४५औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डको प्रहार गोलरक्षक जान ओब्लाकले बचाएपछि रिबाउन्डमा बल आएको थियो। उक्त बललाई २४ वर्षीय साकाले जाली चुमाउँदै निर्णायक गोल गरेका थिए।
आर्सनलको टाइट डिफेन्सले बाँकी काम सम्हाल्यो। नकआउट चरणका तीनै घरेलु खेलमा ‘क्लिन सिट’ राख्दै आर्सनलले प्रतियोगितामा सबैभन्दा कम (चार गोल) खाएका छ। यस्तै, लिग चरणका सबै आठ खेल जितेका छन्।
अब आर्सनलले फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) वा बायर्न म्युनिखसँग ३० मेमा बुडापेस्टमा खेल्नेछ। पीएसजीले पहिलो लेग ५–४ ले जितेको छ। दोस्रो लेग म्युनिखमा हुँदैछ।
यो सिजन आर्सनलका लागि विशेष बन्न सक्छ। क्लब अब पहिलो युरोपियन कप जित्न एक खेल मात्र टाढा छ र २२ वर्षपछि पहिलो प्रिमियर लिग उपाधि जित्न तीन खेल टाढा छ।
म्यानचेस्टर सिटीले एभर्टनसँग ३–३ को बराबरी खेलेपछि आर्सनलले बाँकी तीनै खेल जिते उपाधि पक्का हुनेछ। ‘हामी अहिले च्याम्पियन्स लिगको फाइनलमा छौं र प्रिमियर लिगका लागि पनि लडिरहेका छौं,’ साकाले भने,‘यो सुन्दर कथा हो र आशा छ बुडापेस्टमा राम्रोसँग अन्त्य हुनेछ।’
एकेडेमीबाटै आएका १९ वर्षीय माइल्स लुइस–स्केलीले पनि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे। एट्लेटिकोले ५१औं मिनेटमा बराबरी गर्ने अवसर पाएको थियो। तर, जुलियानो सिमियोनेको प्रयास डिफेन्डर गाब्रिएलका कारण बाहिरियो।
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले गाब्रिएलको प्रदर्शनलाई अविश्वसनीय भनेका छन्। एट्लेटिकोले एन्टोइन ग्रिजम्यानमाथि भएको फाउलमा पेनाल्टी पाउने सम्भावना पनि गुमायो। यसले प्रशिक्षक डिएगो सिमियोनेलाई निराश बनायो।
तर, खेलपछि उनले रेफ्रीलाई दोष दिएनन्। उनले आर्सनल फाइनल पुग्न योग्य टोली भएको स्वीकार गरे। सिमियोको टोली यसअघि २०१४ र २०१६ मा पनि फाइनलमा पुगेको थियो। तर, दुबैपटक हार बेहोरेको थियो।
दोस्रो हाफमा आर्सनलले अर्को अवसर पनि गुमायो। तर, खेल समग्रमा डिफेन्सप्रधान नै रह्यो। अब फाइनलमा जसले जिते पनि खेल शैलीको रोचक भिडन्त हुने निश्चित देखिएको छ।









%20(2)-1777978001805.jpeg&w=3840&q=75)




