च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

काठमाडौं। चेल्सीले लगातार छैटौं पटक प्रिमियर लिगमा हार बेहोरेपछि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ। स्टामफोर्ड ब्रिजमा सोमबार भएको खेलमा चेल्सी नटिङ्घम फरेस्टसँग ३–१ ले पराजित भएको हो।
फरेस्टका ताइवो आवोनियीले दुई गोल गरे। उनले पाएको पेनाल्टीलाई इगोर जेससले गोलमा परिणत गरे। यो जितसँगै फरेस्ट रेलिगेशन क्षेत्रभन्दा ६ अंकले माथि पुगेको छ। योसँगै सुरक्षित हुने सम्भावना पनि बलियो बनाएको छ।
चेल्सीका जोआओ पेद्रोले दोस्रो हाफको इन्ज्युरी समयमा आकर्षक बाइसाइकल किक गोल गरे। झण्डै दुई महिनादेखिको गोल खडेरी अन्त्य अन्त्य गरे पनि त्यो सान्त्वनामै सीमित रह्यो।
यो खेल चेल्सीका लागि निकै निराशाजनक रह्यो। अन्तरिम प्रशिक्षक क्यालम म्याकफार्लेनको नेतृत्वमा टोली कमजोर देखियो। कोल पाल्मरले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी मिस गरे।
खेलको क्रममा १८ वर्षीय विंगर जेसी डेरी र फरेस्टका जाक एबटबीच टाउको ठोक्किँदा दुवै घाइते भए। डेरीलाई स्ट्रेचरमा मैदानबाट बाहिर लगिएको थियो।
गत साता एफए कपको फाइनलमा पुगे पनि चेल्सीको लिग प्रदर्शनमा कुनै सुधार आएको छैन।
टोली अहिले नवौं स्थानमा झरेको छ। यस्तै, शीर्ष पाँचमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ। छैटौं स्थानले अझै च्याम्पियन्स लिगको टिकट काट्न सक्छ। तर, त्यसका लागि एस्टन भिल्लाले पाँचौं स्थान कायम राख्दै युरोपा लिग जित्नुपर्नेछ।
चेल्सी हाल छैटौं स्थानको बोर्नमाउथभन्दा ४ अंकले पछाडि छ। फरेस्टका प्रशिक्षक भितोर पेरेइराले दोस्रो रोजाइका खेलाडी उतारे पनि टोलीले राम्रो प्रदर्शन गर्यो। पछि मैदान प्रवेश गरेका मोर्गन गिब्स-ह्वाइटले आवोनियीको तेस्रो गोलमा सहयोग गरे।
तर, उनी पनि टाउकोमा चोट लागेर मैदान छोड्न बाध्य भए। सोही क्रममा चेल्सीका गोलकिपर रोबर्ट सान्चेज पनि घाइते भए।












