कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

बाँके । बाँकेको कोहलपुरमा सुरु भएको चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी भएको छ ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोलको अन्तरले हराएको हो ।
प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले पहिलो हाफमा दुई गोल गरेको थियो । क्लबका लागि पहिलो गोल विदेशी खेलाडी पेपेले पहिलो गोल गरे । ४४ औं मिनेटमा फागुराम चौधरीले अग्रता दोब्बर पारे । पहिलो हाफमा केही अवसरहरु पाएपनि पञ्चकोशी युवा क्लब सुदूरपश्चिमले गोल गर्न सफल भएन ।
त्यस्तै दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको पञ्चकोशीले साहारा क्लबलाई दबाबमा राख्यो । फलस्वरुप पञ्चकोशीले खेलको ८८ मिनेटमा नुसाहारा उप्रेतीले एक गोल फर्काएका थिए ।
‘म्यान अफ द म्याच’ रेसिङ साहारा क्लबका जर्सी नम्बर १५ का पेपे घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
पेपेलाई सामाजिक डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषि शर्मा, गोरखा युनाइटेड पब्लिक स्कुलका संस्थापक अध्यक्ष र स्पोटिङ ११ नेपालगन्जका अध्यक्ष धनश्याम रानाले संयुक्त रुपमा ट्रफी, मेडल र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगर पुरस्कार प्राप्त गर्ने आयोजक कोहलपुर रेसिङ साहारा क्लबका संयोजक कर्ण बस्नेतले बताए ।
कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन भएको प्रतियोगिताको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले शान्तिका प्रतीक एकजोडी परेवा उडाएर उद्घाटन गरेका थिए ।










-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)
