एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

काठमाडौं। नेपालका लागि भुटानसँगै लाओस पनि अन्तर्राष्ट्रिय फुटबलमा पुरानो प्रतिस्पर्धी मानिन्थ्यो। लामो समयसम्म नेपालले यी टोलीविरुद्ध हार बेहोर्न परेको थिएन।
तर, १० जुन २०२५ मा एएफसी एसियन कप छनोटको खेल भियतनामस्थित न्यु लाओस नेसनल स्टेडियममा हुँदा त्यो इतिहास तोडियो।
त्यो खेल २–१ ले हरेपछि नेपाली टोलीका अस्ट्रेलियन प्रशिक्षक म्याट रसको भविष्य अनिश्चित भयो। निरन्तर कमजोर प्रदर्शनका कारण उनी अन्ततः टोली छाड्न बाध्य भए।

अब, सोही विपक्षीविरुद्ध गुग्लिएल्मो एरेनाले नेपाली टोलीको प्रशिक्षकको रूपमा डेब्यु गर्न लागेका छन्। मंगलबारको खेल एरेनाका लागि टोली सुधार र सकारात्मक नतिजा ल्याउने अवसरको रूपमा लिइएको छ।
‘हामी र लाओस दुवै छनोटबाट बाहिरिसकेका छौं। तर यो खेललाई नयाँ प्रयोग र टोली सुधारको अवसर बनाउनेछौं। समर्थकहरूले राम्रो नतिजा चाहन्छन्, त्यो स्वाभाविक हो। हामी सुधारमा केन्द्रित भएर उनीहरूलाई खुसी पार्ने प्रयास गर्नेछौं,’ एरेनाले भने।
एएफसी एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल र लाओस दुवैले ३–३ अंक छ। चार टोली भएको समूहमा भियतनाम अपराजित रहँदै अर्को वर्ष साउदी अरबमा हुने एसियन कपका लागि छनोट भइसकेको छ। मलेसियाको ५ खेलबाट ९ अंक छ।

नेपालले पाएको तीन अंक भने मैदानको नतिजाबाट नभएर प्रशासनिक निर्णयबाट आएको हो। २६ सेप्टेम्बर २०२५ मा मलेसियाले नक्कली कागजात प्रयोग गरेर खेल खेलाएको आरोपमा फिफाले उनीहरूविरुद्ध कारबाही गर्यो।
५ मार्चमा कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट्सले मलेसियाको अपील खारेज गर्यो। अन्ततः १७ मार्च २०२६ मा एएफसीले मलेसियाले नेपाल र भियतनामविरुद्ध जितेका खेलको नतिजा उल्ट्याएर नेपाललाई ०–३ हरायो।
एरेनाले लाओसविरुद्ध खेल्ने टोलीमा ६ पुराना खेलाडीलाई हटाएका छन्। सर्वाधिक १३ गोल गरेका फरवार्ड अञ्जन विष्ट टोलीमा छैनन्। मिडफिल्डरहरू लाकेन लिम्बू, एरिक विष्ट, कुशल देउवा र फरवार्ड सुवास बम पनि बाहिर छन्। गोलकिपर दीप कार्की पनि टोलीमा छैनन्।

गोलकिपर योगेश धिमाल, मिडफिल्डर पेम्बा दोर्जे लामा, रोमन गुरुङ, दीपेश गुरुङ, फरवार्ड युवराज खड्का र मिलन राई पहिलोपटक समेटिएका छन्।
“पछिल्ला २–३ वर्षको विश्लेषणपछि अब सुधार गर्ने र नयाँ खेलाडीहरूलाई अवसर दिने प्रयास गरिरहेका छौं। घरेलु लिग नियमित नभएको र खेलाडीहरू विदेश गएकाले नयाँ प्रतिभावान् खेलाडी खोजेका हौं,” एरेनाले भने।
उनको लक्ष्य सेप्टेम्बर–अक्टोबरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि बलियो टोली निर्माण गर्नु हो। एरेनाले प्राथमिकता टोली एकजुट बनाउने, रणनीतिक रूपमा बलियो बनाउने र सबै खेलाडीलाई एउटै सोचका साथ खेलाउने राखेका छन्।





-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)





