हाउन्ड्सको लगातार चौथो जित
-1774194974029.jpeg&w=3840&q=75)
काठमाडौं। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउन्ड्सले चौथो जित हात पारेको छ।
सुरुआती तीन खेलमा पराजित भएपछि हाउन्ड्सले उत्कृष्ट पुनरागमन गर्दै चौथो जित हात पार्ने क्रममा प्लेबक्स एरेनालाई ८३–७६ ले पराजित गरेको हो। रोमाञ्चक खेलमा सुरुआती दुई क्वाटरमा हाउन्ड्सले अग्रता बनाएको थियो भने अन्तिम दुई क्वाटर प्लेबक्सले आफ्नो पक्षमा पारेको थियो।
हाउन्ड्सले पहिलो क्वाटर ३१–१९ र दोस्रो क्वाटर १८–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४९–३३ को अग्रता बनाएको थियो। त्यसपछि प्लेबक्सले तेस्रो क्वाटर २२–१८ र चौथो क्वाटर २१–१६ ले आफ्नो पक्षमा पारेपनि हाउन्ड्सलाई जितबाट रोक्न सकेन ।
हाउन्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २२ अंक स्कोर गरे। सौरभ ‘प्लेअर अफ द म्याच’ घोषित भए। लगातार चौथो जितपछि हाउन्ड्सले ७ खेलबाट ११ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ। छैटौं हार बेहोरेको प्लेबक्स ७ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ।
यस्तै शनिबार राति भएको खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ८७–७२ ले पराजित गरेको थियो। गोल्डेनगेट ६ खेलबाट ५ जितपछि ११ अंक जोडेर चौथो स्थानमा छ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउन्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने
टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।














