३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगको फेरि नयाँ मिति घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच भएको छलफलपछि ‘ए’ डिभिजन लिग आगामी ३० चैतदेखि सुरु गर्ने सहमति भएको हो।
यसअघि एन्फा र क्लबहरूको संयुक्त बैठकले यो वर्ष लिग नगर्ने सहमति गरेका थिए। सो सहमति अनुसार लिग ३ पुस २०८३ मा हुने भएको थियो। बरु राष्ट्रिय लिग गर्ने सहमति भएको थियो। राष्ट्रिय लिग भने जारी छ।
तर, नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा केही खेलाडीले ३३ महिनादेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण, ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्नेलगायतका माग लिएर आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए।
सोही दिन एन्फाले फुटबल संघ लगाएर परिसर मै खेलाडीलाई रोकेपछि मूल ढोकामा तालाबन्दी गरिएको थियो। मंगलबार एन्फा महासचिव किरण राईसँगको छलफलपछि खेलाडी संघले एन्फा कार्यालयमा गरेको ताला खेलेका थिए। ताला खुलेपछि भएको छलफलमा दुवै पक्षबीच ‘ए’ डिभिजन लिग यही ३० चैतबाट सञ्चालन गर्ने सहमति भएको हो।
साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम पनि यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति भएको छ।












