मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसी अमेरिकी क्लब इन्टर मियामी मा आबद्ध भएको झण्डै तीन वर्ष पुग्न लागेको छ।
सन् २०२३ को जुलाईमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाडेर उनी इन्टर मियामीमा अनुबन्ध भएका थिए।
तर, त्यतिबेला मेसी आफ्नै प्रिय क्लब बार्सिलोना फर्किने सम्भावनाको निकै नजिक पुगेका थिए। सन् २०२१ मा पीएसजीसँग सम्झौता गरेका मेसी २०२३ मा फेरि बार्सिलोनामा फर्किन इच्छुक रहेको कुरा बार्सिलोनाका पूर्वप्रशिक्षक जाभी हेर्नान्डेजले खुलासा गरेका छन्।
मेसीका पूर्व सहकर्मीसमेत रहेका जाभीले हालै दिएको एक अन्तर्वार्तामा मेसी बार्सिलोनामा फर्कन चाहन्थे। तर, क्लब अध्यक्ष हुआन लापोर्ताको निर्णयका कारण त्यो सम्झौता अन्तिम चरणमा पुगेर पनि भंग भएको बताएका छन्।
जाभीका अनुसार मेसीले कतारमा सम्पन्न विश्वकप जितेपछि बार्सिलोनासँग पुनः सम्झौता गर्ने विषयमा सकारात्मक संकेत दिएका थिए। त्यतिबेला जाभी बार्सिलोनाको प्रशिक्षक थिए।
उनले भने,‘हामी राम्रोसँग अन्त्यतिर पुगिरहेका थियौं। अन्तिम समयमा सम्झौता भंग भएपछि मेस्सी इन्टर मियामी गए। किनभने पीएसजीसँगको उनको सम्झौता सकिइसकेको थियो।’
जाभीका अनुसार मेसीसँग क्लबको लगभग सहमतिसमेत भइसकेको थियो। उनले भने,‘सन् २०२३ को जनवरीमा हामीले सम्पर्क गरेका थियौं। उनले मलाई बार्सिलोनामा फर्कन इच्छुक भएको बताए। हामी मार्चसम्म लगातार कुराकानीमा थियौं। मैले उनलाई भनेको थिएँ, तिमीले हरियो संकेत दिएपछि म अध्यक्षलाई जानकारी गराउँछु। किनकि फुटबलका हिसाबले यो राम्रो निर्णय हुनेछ।’
तर, अन्तिम समयमा अवस्था फेरियो। जाभीका अनुसार क्लब अध्यक्ष लापोर्ताले मेसीका पिता होर्खे मेसीसँग सम्झौताबारे छलफल सुरु गरे पनि पछि निर्णय परिवर्तन गरे। जाभीले भने,‘हामीसँग ला लिगाको स्वीकृतिसमेत थियो। तर, अन्ततः अध्यक्षकै निर्णयका कारण सबै कुरा बिग्रियो।’
बार्सिलोनामा आगामी १५ मार्चमा हुने अध्यक्षीय निर्वाचनको ठीक अघि जाभीले यो खुलासा गरेका हुन्। उक्त निर्वाचनमा लापोर्ताका मुख्य प्रतिस्पर्धीका रूपमा भिक्टर फन्ट रहेका छन्।









-1773053712375.png&w=3840&q=75)


