१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको
-1772593857473.webp&w=3840&q=75)
काठमाडौं। डिएगो सिमेओनेको टोली एट्लेटिको मड्रिडले मंगलबार कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनासँग ३–० ले पराजित भयो। तर, समग्रमा अग्रता जोगाउँदै १३ वर्षपछि पहिलो पटक फाइनलमा स्थान बनाएको छ।
पहिलो लेगमा मड्रिडस्थित मेट्रोपोलिटानो रंगशालामा ४–० को जित निकालेको एट्लेटिकोले समग्रमा ४–३ ले अघि रहँदै फाइनल यात्रा सुनिश्चित गर्यो।
एट्लेटिकोले सिजन २०१२–१३ मा आफ्नो १०औं कोपा उपाधि जितेपछि पहिलो पटक फाइनल खेल्न लागेको हो। अर्को सेमिफाइनलमा रियल सोसिडाड र बास्क प्रतिद्वन्द्वी एथ्लेटिक बिल्बाओबीचको दोस्रो लेग बुधबार हुँदैछ।
पहिलो लेगमा सोसिडाडले एथ्लेटिकको मैदानमा १–० को जित निकालेको थियो। फाइनल अप्रिलमा सेभिलमा हुनेछ। पहिलो लेगको पहिलो हाफमै चार गोल खाँदै दबाबमा परेको बार्सिलोनाले घरेलु मैदानमा दोस्रो लेगमा सशक्त प्रदर्शन गर्यो।
२९औं मिनेटमा मार्क बेर्नालले गोल गरे भने पहिलो हाफको इन्ज्युरी समयमा राफिन्हाले पेनाल्टीमार्फत दोस्रो गोल थपे। बेर्नालले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिरिज बराबरी गर्न एक गोलले मात्र अपुग बनाएका थिए।
‘४–० को हार उल्ट्याउनु सजिलो थिएन भन्ने हामीलाई थाहा थियो,’ राफिन्हाले भने,‘तर, म टोलीप्रति गर्व गर्छु। हामीले सुरुदेखि नै सबै शक्ति लगायौं। फाइनल पुग्न चाहन्थ्यौं र आजको खेल हेर्दा हामी त्यसका हकदार थियौं जस्तो लाग्छ, त्यसैले निराश छौं।’
बार्सिलोनाले लगातार आक्रमण गरे पनि एट्लेटिकोको मजबुत रक्षापंक्तिले अग्रता जोगायो। एट्लेटिकोका गोलकिपर जुआन मुस्सोले भने,‘सायद यो हाम्रो उत्कृष्ट खेल थिएन, तर यो १८० मिनेटको खेल हो। उनीहरूका पक्षमा धेरै कुरा गइरहेका थिए, तर हामीले सहनुपर्ने बेला सह्यौं। सजिलो हुँदैन भन्ने थाहा थियो, तर अन्ततः हामी फाइनलमा पुग्यौं।’
खेलको १३औं मिनेटमै बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डे चोटका कारण बाहिरिए। उनको स्थानमा आलेहान्द्रो बाल्दे मैदानमा आए। तर, उनले पनि दोस्रो हाफमा परिवर्तन मागे। फरवार्ड रोबर्ट लेवान्डोव्स्की चोटका कारण यो खेलमा अनुपस्थित रहे।
गत वर्षको फाइनलमा रियल मड्रिडलाई हराउँदै उपाधि जितेको बार्सिलोनाले यसपटक उपाधि जोगाउने लक्ष्य राखेको थियो। स्पेनिस लिगमा बार्सिलोना शीर्ष स्थानमा छ र दोस्रो स्थानको रियल मड्रिडभन्दा चार अंकले अगाडि छ। एट्लेटिको तेस्रो स्थानमा छ र बार्सिलोनाभन्दा १३ अंकले पछाडि छ।
बार्सिलोना र एट्लेटिको दुवै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन्।





-1772594181027.webp&w=3840&q=75)






