धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

काठमाडौं। नेपालले धर्बेन्द्र कुँवरको कप्तानीमा साफ यु–२० च्याम्पियनसिप खेल्ने भएको छ। धर्बेन्द्र जावलाखेल युथ क्लबको एकेडेमीका उत्पादन हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार उनको कप्तानीमा माल्दिभ्सको माले जाने अन्तिम टोली घोषणा गरेको हो।
धर्बेन्द्रले गत वर्ष भारतमा भएको साफ यु–१९ च्याम्पियनसिप पनि खेलेका थिए।
उक्त टोलीमा रहेका गोलकिपर भक्तबहादुर परियारसहित विजयी उराउ, विज्ञान खड्का, पवन पाख्रिन, प्रशान्त मोक्तालगायतका खेलाडी दोहोरिएका छन्।
प्रतियोगिता २३ मार्चदेखि ४ अप्रिलसम्म हुने तय छ। नेपाल समूह ‘ए’मा छ। यो समूहमा आयोजक माल्दिभ्ससँगै नेपाल, भुटान र श्रीलंका छन्।
अर्को समूहमा बंगलादेश, भारत र पाकिस्तान छन्। नेपालले २३ मार्चमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। २५ मार्चमा श्रील्का र २७ मार्चमा माल्दिभ्ससँग खेल्दै समूह चरणको खेल समाप्त गर्नेछ।
नेपाल साबिक उपविजेता हो। २०२४ मा नेपालमै भएको प्रतियोगिताको फाइनलमा बंगलादेशले ४–१ ले पराजित गरेको थियो। सोही टिम सम्हालेका उर्जन श्रेष्ठले यसपल्ट मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन्।
नेपाली टिम
अलिक श्रेष्ठ, अनुभ पुरी, भक्तबहादुर परियार, विजया उराउ, विज्ञान खड्का, विनायक थारु, धर्बेन्द्र कुँवर (कप्तान), गणेश पुलामी मगर, झोन विष्ट, निशानराज लावती, पवन पाख्रिन, पेमा नोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसून तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिनकुमार लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डांगोल












