मेसी दिलाए मियामीलाई जित

काठमाडौं। अमेरिकी मेजर लिग सकर (एमएलएस) को नयाँ सिजनको पहिलो खेलमै पराजय बेहोरेको लिओनल मेसीको इन्टर मियामीले दोस्रो खेलमा भने सानदार पुनरागमन जित दर्ता गरेको छ। यस जितका मुख्य नायक बने अर्जेन्टिनी सुपरस्टार मेसी।
सोमबार भएको खेलमा इन्टर मियामीले अर्लान्डो सिटीलाई ४–२ गोलले पराजित गरेको हो। पहिलो हाफमा २–० ले पछि परेको मियामीले दोस्रो हाफमा चार गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो। मेसीले दुई गोल गर्दै ‘म्यान अफ दी म्याच’ अवार्डसमेत जिते।
नयाँ सिजनअघि केही नयाँ खेलाडी भित्र्याएपछि मियामी अघिल्लो सिजनभन्दा बलियो देखिने अपेक्षा गरिएको थियो। तर, मैदानमा त्यो प्रभाव सुरआती खेलमा देखिएको थिएन। लस एन्जलसविरुद्धको खेलपछि पनि मियामीले सुरुआतमा संघर्ष गर्नुपर्यो।
खेलको १८औं मिनेटमा मार्को पासालिचले अर्लान्डोलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि मार्टिन ओहेडा (ओजेडा) ले दोस्रो गोल थपेपछि मियामी दबाबमा परेको थियो। टोलीलाई खेलमा फर्काउन प्रशिक्षक हाभिएर माचेरानोले दोस्रो हाफ सुरु भएपछि रणनीतिक परिवर्तन गरे।
लेफ्ट ब्याक नोआ एलेनको स्थानमा आक्रमणतर्फका खेलाडी मातेओ सिल्भेट्टीलाई मैदानमा उतार्ने निर्णय नै खेलको टर्निङ प्वाइन्ट बन्यो। ४९औं मिनेटमा २० वर्षीय अर्जेन्टिनी युवा सिल्भेट्टीले बक्स बाहिरबाट प्रहार गरेको उत्कृष्ट शटले मियामीको अन्तर घटायो।
त्यसपछि सुरु भयो मेसीको जादु। ५७औं मिनेटमा सशक्त आक्रमणका क्रममा अर्लान्डोको बक्सनजिक पुगेका मेसीले अगाडि उभिएका ६ जना खेलाडीको पर्खाललाई छल्दै बायाँ खुट्टाको सटीक प्रहारबाट बल जाली चुमाए। यससँगै खेल २–२ को बराबरीमा पुग्यो। यो मेसीको सिजनको पहिलो गोल पनि बन्यो।
बराबरीपछि मियामी अझ आक्रामक बन्यो। ८५औं मिनेटमा मेसीको पासमा तालिस्को सेगोभियाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ९०औं मिनेटमा फेरि मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेल ४–२ मा पुर्याए।
यो मेसीको करिअरको ७०औं फ्रिकिक गोल हो। एमएलएसको नियमित सिजनमा पहिलो ५५ खेलमा उनको गोल संख्या ५२ पुगेको छ। पछिल्ला ४९ खेलमा मात्रै उनले ५१ गोल गरेका छन्। समग्रमा मेसीको करिअर गोल संख्या ८९८ पुगेको छ। अब थप दुई गोल गरेमा उनले ९०० गोलको ऐतिहासिक उपलब्धि हासिल गर्नेछन्।






-1772383580216.webp&w=3840&q=75)



%20(1)-1772362880824.jpeg&w=3840&q=75)

