नापोलीलाई पार लगाउन फर्किए लुकाकु
-1772330189385.webp&w=3840&q=75)
काठमाडौं। सिरी ‘ए’ मा शनिबार रोमेलु लुकाकुले खेलको अन्तिम प्रहारमा सिजनको पहिलो गोल गर्दै नापोलीको जितविहीन यात्रा अन्त्य गराएका छन्।
प्रि–सिजनमा तीघ्रमा लागेको गम्भीर चोटका कारण यस सिजन जम्मा ४१ मिनेट मात्र खेलेका लुकाकुले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै पुछारको क्लब हेल्लास भेरोनाविरुद्ध नापोलीलाई २–१ को जित दिलाए।
अन्तिम सिटी बज्नासाथ उनी भावुक देखिए। उनको पछिल्लो गोल उनले गत २३ मेमा गरेका थिए। त्यसपछि चोट र सेप्टेम्बरमा ५८ वर्षको उमेरमा बुवाको अकस्मात् निधनले उनलाई कठिन समयबाट गुज्रिनुपरेको थियो।
खेलपछि डिएजनसँग कुरा गर्दै लुकाकुले आँसु रोक्न संघर्ष गर्दै भने,‘व्यक्तिगत रूपमा फुटबलले मलाई धेरै दिएको छ। तर, बुवालाई गुमाउनुको पीडा म हरेक दिन बोकेर हिँड्छु। तर, म आफ्ना छोरीहरू, दाजु र नापोलीका लागि अगाडि बढिरहन्छु। नापोली आउनुअघि म सकिएको जस्तै थिएँ। गत वर्ष हामीले अद्भुत उपलब्धि हासिल गर्यौं। यो वर्ष केही कठिन छ, तर हामी तालिकामा सकेसम्म माथि पुग्न प्रयास गर्नेछौं।’
यो जितसँगै नापोलीले सबै प्रतियोगितामा लगातार चार खेलको जितविहीन यात्रा तोड्यो। साबिक विजेता नापोली अझै पनि लिग तालिकाको तेस्रो स्थानमा छ, शीर्ष स्थानको इन्टर मिलान भन्दा १४ अंकले पछि। इन्टरले जेनोआ लाई २–० ले हराउँदै अग्रता मजबुत बनाएको छ। भेरोना भने सुरक्षित क्षेत्रभन्दा ९ अंकले पछि छ।
नापोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। रास्मुस होइलुन्डको १२ मिटरबाट आएको हेडर गोलमा परिणत भयो। तर, ६५औं मिनेटमा बराबरी गोलमा पनि उनी नै संलग्न भए।
भेरोनाको कर्नर क्लियर गर्ने क्रममा बल जाँ–दानिएल आक्पा आक्प्रोको खुट्टामा पुग्यो र उनको प्रहार होइलुन्डमार्फत डिफ्लेक्ट हुँदै जालीमा छिर्यो। गोल आक्पा आक्प्रोकै नाममा दर्ता भयो।
इन्जुरी समयमा भेरोनाले जित निकाल्ने अवसर पाए पनि कियरन बोवीको प्रहार लक्ष्यबाहिर गयो। त्यसको केही क्षणपछि जियोभानेले छोटो कर्नरबाट दिएको क्रसलाई लुकाकुले नजिकबाट पहिलो टचमै गोल गर्दै नापोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।







-1772330907302.webp&w=3840&q=75)




