भगवतीले गोल बर्साउँदा सुजनको ह्याट्रिक

काठमाडौं। सुजन डंगोलको ह्याट्रिकसँगै श्री भगवती क्लबले राष्ट्रिय लिगमा एकतर्फी जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा भगवतीले प्रेसिडेन्ट कपबाट आएको काँक्रेविहार क्लबविरुद्ध गोलको वर्षा गर्दै ६–० को जित निकालेको हो।
भगवतीको यो दोस्रो जित हो। लिगमा ८ खेल खेलेको भगवतीले ८ अंक जोडेको छ। काँक्रेविहारको भने यो सातौं हार हो। समान खेलबाट काँक्रेविहारको १ अंक छ।
२६औं मिनेटमा दिवस उराउको गोलमा भगवतीले सुरुआती अग्रता लियो । ३७ औं मिनेटमा सुरज गुरुङले गोल गर्दै भगवतीलाई २–० ले अगाडि बढाए।
४३ औं मिनेटमा भगवतीका अजित लामाले गरेको लामो प्रहारलाई काँक्रेबिहारका गोलकिपर प्रतिक सुनारले उत्कृष्ट बचाउ गरे।
६९औं मिनेटमा कप्तान शिशिर लेखीले गोल गर्दै भगवतीलाई ३–० को स्थिति पुर्याए। ८७औं मिनेटमा सुजनले उत्कृष्ट गोल गर्दै भगवतीलाई सहज स्थितिमा पुर्याए। त्यसको दुई मिनेटपछि सुजनले व्यक्तिगत दोस्रो गोल गरेका हुन्।
दोस्रो हाफको इन्जुरी समयमा सुजनले ह्याट्रिक पूरा गरे। सुजनको ह्याट्रिकसँगै भगवतीले लिगमा विशाल जित निकालेको हो।






-1772193235805.webp&w=3840&q=75)





