आलोचकलाई जवाफ दिँदै नेयमार

काठमाडौं। नयाँ सिजनमा सान्तोसलाई पहिलो जित दिलाउँदै ब्राजिलियन स्टार नेयमार जुनियरले आलोचकलाई मैदानमै जवाफ दिएका छन्।
बिहीबार राति भिला बेलमिरोमा भएको खेलमा सान्तोसले भास्को दा गामालाई २–१ गोलले पराजित गर्यो। खेलमा नेयमारले दुई गोल गरे।
२५औं मिनेटमा नेयमारले उत्कृष्ट फिनिसिङमार्फत टोलीलाई अग्रता दिलाए। गोल गरेपछि उनले दर्शकतर्फ ‘चुप’ रहने संकेत गर्दै उत्सव मनाए। साथै, उनले बर्णवादविरुद्ध आवाज उठाउँदै विशेष शैलीमा गोल उत्सव मनाए। यसअघि भिनिसियस जुनियरले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बेन्फिकाविरुद्ध गोल गरेपछि यस्तै शैलीमा उत्सव मनाएका थिए।
४३औं मिनेटमा भास्को दा गामाले बराबरी गोल फर्कायो। तर, ६१औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीको निर्णायक गोल गर्दै सान्तोसलाई जित दिलाए। लामो समयपछि गत १६ फेब्रुअरीमा नेयमार मैदानमा फर्किएका थिए।
भेलो क्लबसँगको खेलमा उनले एक असिस्ट दिएका थिए। त्यसपछिको खेलमा भने सान्तोस नोभोरेजोन्तिनोसँग २–१ ले पराजित भएको थियो। नेयमारको फिटनेस र प्रदर्शनबारे पछिल्लो समय व्यापक चर्चा भइरहेको छ।
शतप्रतिशत फिट नभएका खेलाडीले विश्वकप टोलीमा स्थान नपाउने ब्राजिलियन टोलीका प्रशिक्षक कार्लो एन्सोलोटीले स्पष्ट पारेका छन्। यस्तो अवस्थामा दुई गोल गर्दै नेयमारले आफ्नो क्षमता पुनः प्रमाणित गरेका छन्।
खेलपछि नेयमारले भने,‘म विश्वकै सबैभन्दा खराब खेलाडी हुँ भनेर गत साता भन्थे। आज मैले दुई गोल गरें र यही नै आवश्यक थियो। यही हो फुटबल। एक दिन तपाईं खराब वा सन्न्यास लिनुपर्ने खेलाडी कहलिनुहुन्छ, अर्को दिन फेरि मानिसहरूले तपाईंले विश्वकप खेल्नैपर्छ भन्छन्।’











-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)