फेरि एकपटक नाचे भिनि !
-1772070961895.webp&w=3840&q=75)
फेरि एकपटक भिनिसियस जुनियर नाचे। तर, यसपटक आफ्नै समर्थकहरूका अगाडि।
एक साताअघि उनले बेन्फिकाका एक खेलाडीले आफूलाई जातीय रूपमा अपमान गरेको आरोप लगाएका थिए।
बुधबार भएको प्लेअफको दोस्रो खेलमा रियल मड्रिडले सान्तियागो बेर्नाबेउ रंगशालामा बेन्फिकालाई २–१ ले हरायो। समग्रमा ३–१ को जित निकाल्दै मड्रिड अन्तिम १६ मा प्रवेश गर्यो। खेलको ८०औं मिनेटमा भिनिसियसले निर्णायक गोल गरेका थिए।
गोल गरेपछि उनले कर्नर झण्डानजिकै नाच्दै खुसी मनाए। पहिलो खेलमा पनि उनले यही शैलीमा उत्सव मनाएका थिए। त्यसबेला बेन्फिकाका समर्थकअगाडि नाच्दा विवाद चर्किएको थियो।
जियानलुका प्रेस्टियानीले उनलाई ‘बाँदर’ भनेको आरोप लागेको थियो। प्रेस्टियानीले आरोप अस्वीकार गरेका छन् र क्लबले उनको बचाउ गरेको छ। युरोपेली फुटबल महासंघले उनलाई अस्थायी रूपमा एक खेलका लागि निलम्बन गरेको थियो। बेन्फिकाले निलम्बनविरुद्ध अन्तिम समयमा गरेको पुनरावेदन पनि अस्वीकार गरिएको थियो।
गत साता भएको खेल भिनिसियसको गुनासोपछि करिब १० मिनेट रोकिएको थियो। रेफ्रीले जातीय भेदभावविरुद्धको प्रक्रिया लागू गरेका थिए।
यस खेलमा मड्रिडका लागि पहिलो गोल १६औं मिनेटमा ओरेलियन चुआमेनीले गरेका थिए। त्यसअघि राफा सिल्भाले बेन्फिकालाई अग्रता दिलाएका थिए।
भिनिसियसले काउन्टर अट्याकमा गोलरक्षकलाई छक्याएर गोल गरे। पछिल्ला पाँच खेलमा यो उनको छैटौँ गोल थियो।
गोलकिपर थिबो कर्टुवाले भने, ‘भिनि नाचिरहेका देख्दा म खुसी छु। किनकि उनी नाच्दा त्यसको अर्थ हुन्छ। उनले गोल गरेका छन्।’
बेर्नाबेउमा रहेका तीन हजारभन्दा बढी बेन्फिका समर्थकले खेलको सुरुआतदेखि नै भिनिसियसले बल छोएजति बेला हूटिङ गरे।
उनले बल गुमाउँदा उनीहरूले खुसीयालीसमेत मनाए। प्रारम्भिक टोली घोषणा गर्दा पनि उनको नाम उच्चारण हुँदा कडा हूटिङ भएको थियो। तर खेल अगाडि बढ्दै जाँदा र मड्रिडले नियन्त्रण बढाउँदै जाँदा हूटिङ क्रमशः कम हुँदै गयो।
गत साता लिस्बनमा भएको खेलपछि केही समर्थकले बाँदरको इशारा गरेको दृश्य देखिएको थियो। खेलअघि मड्रिड समर्थकले ‘नो टु रेसिज्म’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। गोलपोस्ट पछाडि ‘सम्मान’ लेखिएको अर्को ब्यानर पनि राखिएको थियो।
बेन्फिकाका डिफेन्डर निकोलास ओटामेन्डीले बल छोएजति बेला मड्रिड समर्थकले पनि हूटिङ गरेका थिए। पहिलो खेलमा भिनिसियसको उत्सवपछि उनलाई घेर्ने खेलाडीमध्ये ओटामेन्डी पनि एक थिए।
बेन्फिकाका प्रशिक्षक जोसे मोउरिन्हो पनि यस खेलमा अनुपस्थित रहे। पहिलो खेलमा रेफ्रीसँग गुनासो गरेपछि उनलाई मैदानबाट बाहिर पठाइएको थियो।
उनले मंगलबारको खेलअघिको पत्रकार सम्मेलनमा सहभागिता जनाएनन् र रंगशालाको दर्शकदीर्घाबाट खेल हेर्ने अपेक्षा गरिएको थियो।
खेलपछि मड्रिडले विज्ञप्ति जारी गर्दै टेलिभिजन क्यामेरामा नाजी शैलीको अभिवादन गरेको देखिएका एक समर्थकविरुद्ध कारबाही प्रक्रिया तत्काल सुरु गर्न अनुरोध गरेको जनाएको छ।
क्लबका अनुसार सुरक्षा टोलीले ती समर्थकलाई पहिचान गरी तुरुन्तै रंगशालाबाट बाहिर निकालेको थियो। मड्रिडले खेल र समाजमा हिंसा तथा घृणा भड्काउने यस्ता गतिविधिको कडा निन्दा गरेको छ।





-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)





