कीर्तिमाननजिक मार्टिनेज
-1769997348347.webp&w=3840&q=75)
काठमाडौं। अर्जेन्टिनाका विश्वकप विजेता लाउटारो मार्टिनेज इन्टर मिलानका लागि थप कीर्तिमाननजिक पुगेका छन्। आइतबार सिरी ‘ए’ अन्तर्गत क्रेमोनेसेविरुद्धको खेलमा गोल गर्दै उनले इन्टरलाई २–० को जित दिलाए।
यो लाउटारोको इन्टरका लागि १७०औं गोल हो। यससँगै उनी क्लबका सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा रहेका रोबर्टो बोनिनसेग्नाबाट मात्र एक गोल टाढा छन्।
इन्टरको सर्वकालीन गोलकर्ताको सूचीमा अल्लेसेन्द्रो आल्टोबेल्ली (२०९ गोल) र जुस्सेप्पे मेआज्जा (२८४ गोल) मात्र उनीभन्दा अगाडि छन्। सिरी ‘ए’मा पछिल्ला १३ खेलमा उनले १० गोल गरेका छन्।
योसँगै लिगमा २८ वर्षीय लाउटारोको लिग गोल संख्या १२८ पुगेको छ। अब उनी इन्टरका सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका बेनिटो लोरेन्जी (१३८ गोल) बाट मात्र १० गोल टाढा छन्। यो सूचीमा पनि मेआज्जा शीर्ष स्थानमा छन्, जसको नाममा १९७ लिग गोल छन्।
खेलको १६औं मिनेटमा लाउतारोले कर्नरबाट आएको बल हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। गोलपछि उनले जर्सी उठाएर आफ्नी छोरीको जन्मदिनको सन्देश देखाउँदै उत्सव मनाए।
३१औं मिनेटमा पिओत्र जिलिन्स्कीले करिब ३० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै इन्टरको अग्रता दोब्बर बनाए। क्रेमोनेसेका गोलकिपर एमिल आउडेरोले बल नियन्त्रणमा लिएको जस्तो देखिए पनि हावामै दिशा परिवर्तन हुँदा बल उनको हातबाट जाली चुम्यो।
यस जितसँगै इन्टर मिलानले तालिकामा दोस्रो स्थानमा रहेको एसी मिलानसँगको अग्रता आठ अंकमा पुर्याएको छ। एसी मिलानले मंगलबार बोलोनियाको भ्रमण गर्नेछ।













