बार्सिलोनाको उद्धारकर्ता यमल !

काठमाडौं। लामिन यमलले फेरि एकपटक बार्सिलोनालाई उद्धार गरेका छन्।
एक गोल र एक असिस्टसहित यमलको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले कोपेनहेगनविरुद्ध पुनरागमन गर्दै च्याम्पियन्स लिगको लिग चरणमा शीर्ष आठ मा स्थान पक्का गरेको छ।
बुधबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ४–१ को जित निकाल्दै तालिकाको पाँचौं स्थानमा रहेर सिधै अन्तिम १६ (राउन्ड अफ सिक्सटिन) मा स्थान बनायो।
‘म्यान अफ दी म्याच’ घोषित यमलले खेलपछि भने,-बाल्यकालमा यस्तो खेल्ने र जित्ने सपना देखिन्छ। आजको रात अद्भुत रह्यो र हामीले हाम्रो लक्ष्य हासिल गर्यौं।’
खेलको सुरुआतमा भने कोपेनहेगनले चकित पार्यो। खेलको चौथो मिनेटमै १७ वर्षीय भिक्टर डाडासन ले काउन्टर अट्याकबाट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।
तर, दोस्रो हाफमा यमलले खेलको दिशा बदलिदिए। उनले ४८औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीको गोलमा असिस्ट गरे र ६०औं मिनेटमा आफैं निर्णायक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
बक्सको दायाँ किनाराबाट हानेको उनको कर्लिङ सट डिफेन्डरलाई लाग्दै टाढाको पोस्ट नजिकै जाली चुमेको थियो। बार्सिलोना प्रशिक्षक हान्सी फ्लिक ले यमलको खुलेर प्रशंसा गरे।
‘उनीसँग सधैं दुई–तीन जना खेलाडी लागिरहेका हुन्छन्, त्यसैले उसले आफूलाई निरन्तर अनुकूल बनाउनु पर्छ। आज पहिलो गोलमा उनको गति र खाली ठाउँमा आक्रमण सानदार थियो। उनले डिफेन्समा पनि कडा मिहिनत गरे। उनी अद्भुत गुणस्तरका खेलाडी हुन्,’ फ्लिकले भने।
पछि राफिन्हा र मार्कस रासफोर्डले थप गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। यो जितसँगै बार्सिलोनाले सबै प्रतियोगिता मिलाएर पछिल्ला १५ खेलमध्ये १४ जित निकालेको छ।
१८ वर्षीय यमल पछिल्ला केही वर्षयता बार्सिलोनाका सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा उभिँदै आएका छन्। यो खेलमा पनि उनले आफूलाई फेरि प्रमाणित गरे।
अर्कोतर्फ, डाडासनको गोलले च्याम्पियन्स लिगमा अर्क इतिहास रच्यो। १८ वर्ष पूरा हुनुअघि गरिएको उनको तेस्रो गोल हो। यमल भने १८ वर्षअघि नै प्रतियोगितामा ५ गोल गर्ने गोलकर्ता बनेका छन्।
कोपेनहेगन भने ३६ टोली सहभागी लिग चरणमा ३१औं स्थान मा रहँदै आफ्नो अभियान समाप्त गर्यो।











-1769622014281.jpeg&w=3840&q=75)

