विश्वकप २०३० को फाइनल स्पेनमा हुने

काठमाडौं। फिफा विश्वकप २०३० फुटबलको फाइनल खेल स्पेनमा आयोजना हुने निश्चित भएको छ। स्पेनिस फुटबल महासंघ (आरएफईएफ) का अध्यक्ष राफाएल लुजानले उक्त कुरा सार्वजनिक गरेका हुन्।
स्पेनले मोरक्को र पोर्चुगलसँग संयुक्त रूपमा विश्वकपको आयोजना गर्न लागेको हो। फाइनल खेलको भेन्यूलाई लिएर केही समयदेखि मोरक्को र स्पेनबीच प्रतिस्पर्धा देखिएको थियो। तर, लुजानले सञ्चारमाध्यमसँग स्पष्ट रूपमा भने,‘विश्वकपको नेतृत्व स्पेनले गर्नेछ र फाइनल खेल यहीं हुनेछ।’
यद्यपि, फाइनल कुन रंगशालामा हुनेछ भन्ने विषयमा उनले स्पष्ट जानकारी दिएका छैनन्। तरऽ स्पेनिस सञ्चारमाध्यमहरूले रियल कड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउ रंगशालामा फाइनल आयोजना हुने सम्भावना बढी रहेको जनाएका छन्। यसका साथै बार्सिलोनाको नवनिर्मित क्याम्प नोउ रंगशाला पनि फाइनलका लागि विचाराधिन रहेको बताइएको छ।
अर्कोतर्फ, मोरक्कोले निर्माणाधीन हसन टु रंगशालामा फाइनल आयोजना गर्ने योजना बनाएको थियो। सन् २०२८ मा निर्माण सम्पन्न भएपछि यो रंगशाला विश्वकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ। यसको दर्शक क्षमता १ लाख १५ हजार हुनेछ।
२०३० को विश्वकप फुटबल इतिहासको १०० वर्ष पूरा भएको अवसरमा आयोजना हुन लागेको हो। यो संस्करण तीन महादेशमा हुनेछ। मुख्य आयोजक राष्ट्र स्पेन, पोर्चुगल र मोरक्को भए पनि उद्घाटन खेल तथा केही विशेष खेलहरू दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा आयोजना गरिनेछ।













