लेवान्डोव्स्कीको स्थानमा अल्भारेजलाई भित्र्याउने सुरमा बार्सिलोना

काठमाडौं। क्याटलान क्लब बार्सिलोना सिजनको अन्त्यसँगै एट्लेटिको मड्रिडबाट जुलियन आल्भारेजलाई भित्र्याउने तयारीमा जुटेको छ। सबै कुरा योजनाअनुसार भए अर्जेन्टिनी फरवार्ड आल्भारेजलाई आगामी सिजन बार्सिलोनामा देख्न सकिनेछ।
यसका लागि बार्सिलोना करिब ८० मिलियन युरो खर्च गर्न तयार रहेको स्पेनी सञ्चारमाध्यमहरूको दाबी छ। सिजनपछि रोबर्ट लेवान्डोव्स्की क्लब छाडेर मेजर लिग सकर (एमएलएस) तर्फ जाने सम्भावना छ। उनको स्थान पूर्ति गर्न बार्सिलोनाको पहिलो रोजाइमा विश्वकप विजेता आल्भारेज परेका हुन्।
डिएगो सिमेओनेको प्रशिक्षणमा एट्लेटिकोमा आल्भारेजले अपेक्षित गोल फर्म भेट्टाउन सकेका छैनन्। त्यसले उनको भविष्यलाई लिएर चर्चा चुलिएको छ। यद्यपि, त्यसका बाबजुद बार्सिलोना व्यवस्थापन उनलाई भित्र्याउन खोजिरहेको छ।
रिभर प्लेट र म्यानचेस्टर सिटीका पूर्वखेलाडी आल्भारेजलाई बार्सिलोनाले क्लबको आक्रमण शैलीसँग पूर्ण रूपमा मेल खाने खेलाडीका रूपमा हेरेको छ। क्लबले उनको तुलना सन् २०१४ मा लिभरपुलबाट अनुबन्ध गरिएका लुइस सुआरेजसँग पनि गरेको छ।
सुआरेजलाई त्यतिबेला ८२.३ मिलियन युरोमा भित्र्याइएको थियो। अहिले आल्भारेजका लागि करिब त्यही रकम खर्च गर्न बार्सिलोना तयार छ।
यद्यपि, एट्लेटिको आल्भारेजलाई दीर्घकालीन योजनाको केन्द्रमा राख्न चाहन्छ। क्लब व्यवस्थापन उनलाई कम्तीमा आगामी १० वर्षका लागि टोलीको महत्त्वपूर्ण सम्पत्ति मानिरहेको छ। यसअघि म्यानचेस्टर युनाइटेड र लिभरपुलले पनि आल्भारेजप्रति चासो देखाएका थिए।
चालु सिजनमा आल्भारेजले सबै प्रतियोगिता मिलाएर २७ खेलमा ११ गोल र ५ असिस्ट गरेका छन्। उनको अन्तिम गोल डिसेम्बर ९ मा च्याम्पियन्स लिगमा पीएसभीविरुद्ध आएको थियो। ला लिगामा भने उनले नोभेम्बरपछि गोल गर्न सकेका छैनन्।
यस हप्ता एट्लेटिको च्याम्पियन्स लिगमा गालातासारायसँग खेल्दैछ। सो खेलमा पनि आल्भारेजलाई सुरुआती ११ राखिने अपेक्षा गरिएको छ। सिमेओनेलाई निर्णायक भूमिका अर्जेन्टिनी फरवार्डले नै निभाउनेमा विश्वास छ।














