‘यस्तो जितभन्दा हार स्वीकार गर्न सजिलो हुन्थ्यो’

काठमाडौं। नाटकीय घटनाक्रमले भरिएको अफ्रिका कप अफ नेसन्स (एएफकन) को फाइनलपछि सेनेगलका स्टार खेलाडी साडियो मानेले असन्तुष्टि व्यक्त गरेका छन्। विवादित रेफ्री निर्णयका बीच आएको जितभन्दा हार स्वीकार गर्न सजिलो हुने उनको भनाइ छ।
रेफ्रीको निर्णयप्रति सेनेगल टिमका सबै खेलाडी आक्रोशित देखिएका थिए। मोरक्कोको राबातमा भएको फाइनल खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा प्रवेश गरेको थियो। खेलको निर्धारित समयको अन्त्यतिर ब्राहिम डियाजमाथि फाउल भएको भन्दै कंगोका रेफ्री ज्याँ–ज्याक अन्डालाले भिएआरको सहायतामा मोरक्कोलाई पेनाल्टी दिएका थिए।
उक्त निर्णयपछि सेनेगल टोली आक्रोशित बनेको थियो र केही समयका लागि मैदान नै छाडेर ड्रेसिङ रुमतर्फ गएको थियो। करिब १७ मिनेट खेल रोकिएको थियो। टोलीका सबैभन्दा ठूलो स्टार मानेको आग्रहपछि सेनेगलका खेलाडी पुनः मैदानमा फर्किए।
तर, पेनाल्टीमाडियाजले पानेन्का शैलीमा गरेको प्रहार गोलमा परिणत हुन सकेन। अतिरिक्त समयमा सेनेगलले निर्णायक गोल गर्दै १–० को जित हात पार्यो। यससँगै सेनेगलले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्यो। यद्यपि, जितपछि पनि सेनेगल क्याम्पमा खुशीभन्दा बढी असन्तुष्टि देखियो।
खेलपछि मानेले भने,‘यसरी फाइनल समाप्त हुनु निकै दुःखद र दुर्भाग्यपूर्ण हो। यस्तो दृश्य संसारभर देखिनु लाजमर्दो कुरा हो। अफ्रिकी फुटबल तीव्र रूपमा अगाडि बढिरहेको छ, यो खेल हाम्रो लागि सम्मानको विषय हो। यस्तो जितभन्दा हार स्वीकार गर्न सजिलो हुन्थ्यो। म त्यसका लागि पनि तयार थिएँ। मैले खेलाडीहरूलाई मैदानमा फर्केर आफ्नो उत्कृष्ट फुटबल देखाउन आग्रह गरेको थिएँ।’
फाइनलको एकमात्र गोलकर्ता पापा गुएय पनि रेफ्रीको निर्णयप्रति निराश देखिए। उनले भिएआरमा गोल रद्द गरिएको र रेफ्रीले गलत निर्णय गरेको आरोप लगाए।
गुएयले भने,‘हामीमाथि अन्याय भयो। रेफ्रीले भिएआर नहेरी हाम्रो गोल रद्द गरे। हामी पनि मानिस हौं, यस्तो व्यवहारले निराश भयौं। साडियो मानेको आग्रहपछि मात्रै हामी मैदानमा फर्कियौं।’ उता, घरेलु मैदानमै ५० वर्षको प्रतीक्षा तोड्दै उपाधि जित्ने सपना अधुरै रहँदा मोरक्कोका खेलाडी र समर्थकहरू गहिरो निराशामा डुबेका छन्।









-1768908116031.jpeg&w=3840&q=75)

-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)