पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा
-1768550031655.png&w=3840&q=75)
मोरङ। पथरी शनिश्चरेस्थित पथरी ११ फुटबल क्लबका डिफेन्डर धीरेन क्षेत्री र गोलकिपर समीर क्षेत्रीले राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन्। दुवै खेलाडी मच्छिन्द्र क्लबबाट राष्ट्रिय लिग खेल्न लागेका हुन्।
धीरेन गत वर्ष सम्पन्न ‘सी’ डिभिजन लिगमा सुर्खेतको आरसी–३२ क्लबमा आबद्ध थिए। आरसी–३२ लाई ‘बी’ डिभिजन लिगमा उकाल्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
पथरी ११ का नियमित खेलाडी रहेका धीरेन कोशी प्रदेशमा आयोजना हुने विभिन्न गोल्डकप प्रतियोगितामा समेत सहभागी हुँदै आएका छन्। यसै वर्ष सम्पन्न पथरी गोल्डकपमा टिमलाई फाइनलमा पुर्याउँदै उनी उत्कृष्ट डिफेन्डर घोषित भएका थिए। साथै, पथरी ११ ले सतिशाले गोल्डकपको उपाधि जित्दा पनि धीरेन उत्कृष्ट डिफेन्डर घोषित भए।
त्यसैगरी, पथरी गोल्डकपका उदीयमान खेलाडीको उपाधि जितेका समीर भरपर्दा गोलकिपरका रूपमा चिनिन्छन्। ‘सी’ डिभिजनमा मनोहरा क्लबबाट खेले पनि लामो समय बेन्चमै बसेका समीर त्यसपछि मोफसलका विभिन्न गोल्डकप प्रतियोगितामा व्यस्त बने।
सतिशाले गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका अग्ला कदका समीर पनि राष्ट्रिय लिग खेल्ने पथरी शनिश्चरेकै बासिन्दा हुन्। स्थानीय पथरी ११ फुटबल क्लबले सञ्चालन गर्ने नियमित प्रशिक्षणका कारण पथरी शनिश्चरे नगरमा फुटबल खेलाडी उत्पादन गर्न सफल भएको क्लबका अध्यक्ष सुमन विक बताउँछन्।
नेपाली राष्ट्रिय खेलाडी दीपक राईसहित ‘ए’ डिभिजन लिग खेलिसकेका साइमन लिम्बू, अर्जुन बस्नेत, मीन धिमाललगायतका खेलाडी जन्माएको पथरी ११ फुटबल क्लब पछिल्लो समय नयाँ खेलाडी उत्पादनमा अझ सक्रिय बनेको छ।








-1768462517116.jpeg&w=3840&q=75)






