बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

काठमाडौं। कोपा डेल रेका साविक विजेता बार्सिलोनाले दोस्रो डिभिजनको शीर्ष टोली रेसिङ सान्तान्दरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
रियल मड्रिड भने अघिल्लो दिन नै अप्रत्याशित हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
बिहीबार सान्तान्दरमा भएको खेलमा बार्सिलोनाका लागि फेरान टोरेसले ६६औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। फर्मिन लोपेजको पासमा ब्रेकअवेमा निस्कँदै उनले गोलकिपरलाई छल्दै खाली जालीमा बल छिराए।
खेलको अतिरिक्त समयको छैटौं र अन्तिम मिनेटमा लामिन यमलले दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। रेसिङ सान्तान्दरका दुई गोल अफसाइडका कारण मान्य भएनन्।
७७औं र ८६औं मिनेटमा गरिएका गोल अमान्य घोषित गरियो। दोस्रो हाफको इन्जुरी समयमा रेसिङले बराबरी गर्ने सुनौलो मौका पाए पनि बार्सिलोनाका गोलकिपर जोआन गार्सियाले मानेक्स लोजानोको प्रहार अन्तिम क्षणमा बचाउँदै टोलीलाई जोगाए।
खेलपछि फेरान टोरेसले भने,‘हामीसँग जोआन जस्तो गोलकिपर हुनु सौभाग्यको कुरा हो। यी टोलीहरू राम्रो तयारीसहित आउँछन् र गुणस्तरीय खेलाडी हुन्छन्, त्यसैले शीर्ष डिभिजनका टोलीका लागि खेल कठिन भएको हो।’
स्टेडियम प्रवेशमा समस्या आएपछि खेल १५ मिनेट ढिला सुरु भएको थियो। खेलअघि रेसिङका खेलाडीहरूले स्पेनिस सुपर कप च्याम्पियन बार्सिलोनाका खेलाडीहरूलाई गार्ड अफ अनर दिएका थिए।
यसअघि बुधबार रियल दोस्रो डिभिजनको अल्बासेतेसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। उक्त खेल नयाँ प्रशिक्षक आल्भारो आर्बेलोआको डेब्यु पनि थियो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले राफिन्हा, रोबर्ट लेवान्डोव्स्की र पेड्रीजस्ता मुख्य खेलाडीलाई सुरुआतमा नखेलाई दोस्रो हाफमा मात्र मैदान उतारेका थिए।







-1768462517116.jpeg&w=3840&q=75)
-1768446504496.webp&w=3840&q=75)





