राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

काठमाडौं। राज भुषालको निर्णायक गोलसँगै मोफसलको लालिगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिगमा सुखद् सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा पोखराको क्लबले ‘ए’ डिभिजन लिग क्लब जावालाखेल युथलाई १–० ले पराजित गरेको हो।
लालिगुराँसको जितमा राजले गरेको गोल नै निर्णायक रह्यो। जितसँगै लालिगुराँसले ३ अंक प्राप्त गरेको छ। खेलको सुरुआती दोस्रो मिनेटमै लछु थापाले हानेको फ्रिकिकलाई राजले गोलमा परिणत गर्दै लालीगुराँसलाई अग्रता दिलाए। यही गोल खेलको निर्णायक गोल बन्यो।
३२औं मिनेटमा जावलाखेलका सुजन गुरुङले प्रहार गरेको फ्रिकिकमा धर्बेन्द्र कुँवरले हेडर गर्दा बल पोस्टको बायाँपट्टिबाट बाहिरिएको थियो। ३७औं मिनेटमा लालीगुराँसका स्कन्दर सिद्दीखोनोवले फाउल खेलेपछि पहेंलो कार्ड पाए। सो फाउलबाट प्राप्त अवसरलाई जावलाखेलका दीपेन्द्र विकले सदुपयोग गर्न सकेनन्।
४२औं मिनेटमा जावलाखेलका अनिल रानामगरले गरेको प्रहार पनि लक्ष्यमा चुक्यो। पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका युवराज ढकालले फाउल गरेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए।
दोस्रो हाफको ५६औं मिनेटमा लालीगुराँसका सचिन गुरुङले गरेको प्रहार पोस्टको दायाँपट्टिबाट बाहिरियो। ७८औं मिनेटमा जावलाखेलका निकोलस ओड्ने ह्यामिल्टनको शक्तिशाली प्रहारलाई लालीगुराँसका गोलकिपर अनिश महतोले उत्कृष्ट बचाउ गरे।
त्यसैगरी दोस्रो हाफको इन्जुरी समयमा धर्बेन्द्रले गरेको प्रहारलाई पनि गोलकिपर अनिशले दोस्रो पटक उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए।






-1768462517116.jpeg&w=3840&q=75)
-1768446504496.webp&w=3840&q=75)
-1768446054142.webp&w=3840&q=75)





