ग्रिजमानको निर्णायक गोल

काठमाडौं। एन्टोइन ग्रिजमानको निर्णायक गोलमा एट्लेटिको मड्रिड कोपा डेल रे को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले दोस्रो डिभिजन क्लब डेपोर्टिभो ला कोरुनालाई उसकै मैदानमा १–० गोलले पराजित गर्यो।
खेलको ६१औं मिनेटमा ग्रिजमानले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे। उनले बायाँ खुट्टाबाट हानेको कर्लिङ सट गोलपोस्टको दायाँ माथिल्लो कुनामा पुग्यो।
गोलपछि ग्रिजमानले भने,‘किपरको कुनातिर हान्ने कि माथिबाट लैजाने भन्नेमा अन्योल थियो। शक्तिशाली प्रहारभन्दा पनि बललाई ठीक ठाउँमा राख्ने प्रयास गरें।’
३४ वर्षे ग्रिजमानका लागि यो पछिल्ला ६ खेलमा पाँचौं गोल हो। एट्लेटिको प्रशिक्षक डिएगो सिमेओनेले ग्रिजमानको प्रशंसा गर्दै भने,‘ग्रिजमान खेलको दिशा बदल्न सक्ने खेलाडी हुन्। अझै पनि उनीसँग प्रतिस्पर्धा गर्ने र टोलीलाई सहयोग गर्ने जादु छ।’
यो जितसँगै एट्लेटिकोले पछिल्ला दुई खेलको खराब नतिजा अन्त्य गरेको छ। यसअघि टोली स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल मड्रिडसँग २–१ ले पराजित भएको थियो भने ला लिगामा रियल सोसिडाडसँग १–१ को बराबरी खेलेको थियो।
ला लिगाको मध्य चरणसम्म एट्लेटिको चौथो स्थानमा रहेको छ र शीर्षस्थानको बार्सिलोनाभन्दा ११ अंकले पछि छ। खेलको ७०औं मिनेटतिर केही समय रोकिएको थियो।
डेपोर्टिभोका गोलकिपर जर्मान पार्रेञो ग्रिजमानसँगको ठोकिएपछि ओठमा चोट लागेपछि मैदानमै उपचार गरियो। चिकित्सकले टाँका लगाएपछि उनी पुनः खेलमा फर्किएका थिए।






-1768358228603.webp&w=3840&q=75)








