लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने
-1768190196463.webp&w=3840&q=75)
काठमाडौं। प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर कोनर ब्राड्लीलाई घुँडामा चोट लागेको छ। क्लबले आइतबार जारी गरेको विज्ञप्तिमा ब्राड्लीको शल्यक्रिया गरिने जानकारी दिएको हो।
आर्सनलविरुद्ध बिहीबार भएको गोलरहित बराबरी खेलको अन्त्यतिर ब्राड्ली घाइते भएका थिए। स्टपेज टाइममा क्लियर गर्ने क्रममा गलत तरिकाले अवतरण भएपछि उनी मैदानमै पीडामा छटपटाइरहेका देखिएका थिए।
लिभरपुलका अनुसार ब्राड्लीको आगामी केही दिनभित्र शल्यक्रिया हुनेछ। त्यसपछि पुनःस्थापना (रिह्याबिलिटेसन) प्रक्रिया सुरु गरिनेछ। क्लबले हाल उनको मैदान फर्कने समयसीमा तय नगरिएको जनाएको छ।
अन्तिम क्षणमा आर्सनलका गाब्रिएल मार्टिनेलीले खेल छिटो सुरु गराउने प्रयासमा ब्राड्लीलाई मैदान बाहिर धकेल्न खोजेपछि लिभरपुलका खेलाडीहरू आक्रोशित बनेका थिए। उक्त घटनापछि मार्टिनेलीले ब्राड्लीसँग माफी मागेका छन्।
इन्स्टाग्राममा पोस्ट गर्दै मार्टिनेलीले लेखेका छन्,‘कोनर र मैले सन्देश आदान–प्रदान गरेका छौं र मैले उनलाई माफी मागिसकेको छु। त्यो बेला उनी गम्भीर रूपमा घाइते छन् भन्ने मलाई थाहा थिएन। मेरो व्यवहारप्रति म क्षमाप्रार्थी छु र उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’














