सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

काठमाडौं। मोहम्मद सलाहको निर्णायक गोलको मद्दतमा इजिप्टले डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्टलाई ३–२ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाएको छ।
शनिबार सम्पन्न क्वार्टरफाइनलमा आइभोरी कोस्टले दुईपटक दुई गोलले पछि पर्दा पनि पुनरागमनको प्रयास गरेको थियो। तापनि बराबरी गोल गर्न असफल भयो।
खेलको चौथो मिनेटमै ओमार मार्मुशले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि ३२औं मिनेटमा रामी राबियाले कर्नरबाट हेडरमार्फत दोस्रो गोल गरे। आइभोरी कोस्टले ४०औं मिनेटमा इजिप्टका डिफेन्डर अहमद फोतूहको आत्मघाती गोलबाट खेलमा फर्किने संकेत दिएको थियो।
सलाहले ५२औं मिनेटमा गोल गर्दै इजिप्टको अग्रता पुनः दुई गोलमा पुर्याए। यो गोल प्रतियोगितामा उनको चौथो गोल हो। खेलको ७३औं मिनेटमा गुएला डुएले गोल गरे पनि आइभोरी कोस्ट बराबरीमा पुग्न सकेन।
खेलपछि सलाहले भने, ‘हामी देशका लागि लडिरहेका छौं। सेमिफाइनलमा कठीन प्रतिद्वन्द्वी छ, तर हामी आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’
यस जितसँगै इजिप्टले सन् २०२१ को च्याम्पियन सेनेगलसँग बुधबार ट्याङ्जियरमा सेमिफाइनल खेल्नेछ। इजिप्ट आठौं उपाधिको खोजीमा छ।














