स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय
-1767924589079.webp&w=3840&q=75)
काठमाडौं। फेडेरिको भाल्भेर्दे र रोड्रिगोको गोल मद्दतमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै साउदी अरेबियामा भइरहेको स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ।
बिहीबार जेद्दाहमा भएको सेमिफाइनल जितसँगै आइतबार हुने फाइनलमा रियल र बार्सिलोनाबीच बहुप्रतिक्षित ‘एल क्लासिको’ हुने पक्का भएको हो।
खेलको दोस्रो मिनेटमै उरुग्वेका मिडफिल्डर भाल्भेर्देले फ्रिकिकबाट शक्तिशाली प्रहार गर्दै रियललाई अग्रता दिलाए। उनको प्रहारलाई एट्लेटिकोका गोलकिपर यान ओब्लाकले रोक्न सकेनन्।
५५औं मिनेटमा भाल्भेर्देले एट्लेटिकोको डिफेन्स चिरेर दिएको पासमा रोड्रिगोले रन मिलाउँदै लो स्ट्राइकमार्फत दोस्रो गोल गरे। गत सिजन अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका रोड्रिगो हाल उत्कृष्ट लयमा देखिएका छन्।
एट्लेटिकोले खेलमा फर्किने प्रयासस्वरूप ५८औं मिनेटमा अलेक्जान्डर सोरलोथमार्फत गोल गर्यो। जुलियानो सिमियोनेको क्रसमा सोरलोथले हेडरमार्फत गोल गरेपछि एट्लेटिकोले बराबरीका लागि दबाब बढायो, तर सफल हुन सकेन।
रियल यस खेलमा स्टार फरवार्ड किलियन एमबाप्पेबिना मैदान उत्रिएको थियो। बायाँ घुँडामा चोट लागेका कारण एमबाप्पे लगातार दोस्रो खेलमा अनुपस्थित रहे।
जाबी अलोन्सोको प्रशिक्षणमा रहेको रियलले आइतबार हुने चार टोलीको प्रतियोगिताको फाइनलमा बार्सिलोनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। भाल्भेर्देको यो सिजनको पहिलो गोल हो।
डानी कार्भाहाल र ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड चोटग्रस्त रहेकाले उनी यस सिजन राइट ब्याकको भूमिकामा खेल्न बाध्य भएका थिए। सोही कारण आक्रमणमा अपेक्षाअनुसार योगदान दिन सकेका थिएनन्।
खेलको अन्तिम चरणमा एट्लेटिकोले केही राम्रो अवसर सिर्जना गरे पनि रियलका गोलकिपर थिबाउ कोर्टुवा उत्कृष्ट देखिए। उनले सोरलोथको नजिकबाट आएको हेडर र एलेक्स बाएनाको लामो दूरीको प्रहारलाई रोक्दै टोलीको जित सुरक्षित गरे।
यसअघि सेप्टेम्बरमा भएको ला लिगा भेटमा एट्लेटिकोले रियललाई ५–२ ले हराएको थियो। बुधबार भएको अर्को सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई ५–० ले पराजित गरेको थियो। गत वर्षको स्पेनी सुपर कप फाइनलमा भने बार्सिलोनाले रियललाई ५–२ ले हराएको थियो।








-1767923977114.webp&w=3840&q=75)







