सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

काठमाडौं। फुटबलबाट सन्न्यास लिएपछि अधिकांश पूर्वखेलाडीले प्रशिक्षणलाई दोस्रो करिअरका रूपमा रोज्ने गर्छन्। तर, अर्जेन्टिनी फुटबल स्टार लिओनल मेसीले भने फरक निर्णय लिन लागेका छन्।
हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका उनी क्लबको मालिक बनेर त्यसलाई अगाडि बढाउने सोचमा बढी आकर्षित देखिएका छन्।
अर्जेन्टिनाको स्ट्रिमिङ च्यानल लुजु टिभीलाई दिएको अन्तर्वार्तामा उनले भने,‘म आफूलाई प्रशिक्षकको रूपमा देख्दिनँ। प्रशिक्षक हुने विचार ठीक लाग्छ, तर क्लबको मालिक हुन मलाई अझ बढी मन पर्छ। मेरो आफ्नै क्लब होस्। ग्रास रुटबाट सुरु गरेर त्यसलाई ठूलो बनाउने चाहना छ। बालबालिकालाई विकास गर्ने अवसर दिनु र केही महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने बाटोमा अगाडि बढ्नु नै सबैभन्दा आकर्षक कुरा हुनेछ।’
हालै मेसीले इन्टर मायामीसँग २०२८ को एमएलएस सिजनसम्म सम्झौता नवीकरण गरेका छन्। सोही कारण अझै केही वर्ष उनलाई मैदानमा देख्न पाइनेछ। यसैबीच उनले क्लब स्वामित्वको अनुभव पनि लिन थालेका छन्।
आफ्ना लामो समयका साथी लुइस सुआरेजसँग मिलेर उनले उरुग्वेको चौथो डिभिजनको क्लब डिपोर्टिभो एलएसएम स्थापना गरेका छन्। क्लबको नाम सुआरेज र मेसीका नामको आद्याक्षरबाट राखिएको हो। हाल क्लबमा करिब ८० जना कर्मचारी कार्यरत छन् भने सदस्य संख्या करिब ३ हजार पुगेको छ।
सुआरेजले भने,‘डिपोर्टिभो एलएसएम एउटा पारिवारिक सपना हो, जसको सुरुआत २०१८ मा भएको थियो। उरुग्वे फुटबलमा बालबालिका र किशोरहरूलाई अगाडि बढ्ने अवसर र आवश्यक साधन उपलब्ध गराउनु हाम्रो उद्देश्य हो।’
यस परियोजनामा जोडिन पाउँदा खुसी लागेको मेसी बताउँछन्। युवापुस्ताको विकासलाई लक्षित गर्दै मेसीले हालै ‘मेसी कप’ नामक अन्तर्राष्ट्रिय यू–१६ प्रतियोगिता पनि सुरु गरेका छन्। मायामीमा आयोजित पहिलो संस्करणको फाइनलमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै रिभर प्लेटले उपाधि जितेको थियो।
अहिलेका लागि मेसी खेलाडीको भूमिकामै केन्द्रित छन्। एमएलएस कप च्याम्पियन इन्टर मायामीले आगामी २१ फेब्रुअरीमा लस एन्जलस एफसीविरुद्धको अवे खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ।






-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)



-1767840835858.webp&w=3840&q=75)