राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा
-1767840835858.webp&w=3840&q=75)
काठमाडौं। साउदी अरेबियामा भएको स्पेनी सुपर कपको सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक बिलबाओलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
बुधबार जेद्दाहस्थित अलिन्मा स्टेडियममा भएको खेलमा राफिन्हाले दुई गोल गर्दै बार्सिलोनाको जितमा मुख्य भूमिका खेले।
ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले पहिलो हाफमै चार गोल गर्दै बास्क प्रतिद्वन्द्वीलाई दबाबमा पारेको थियो। युवा स्टार लामिन यमल भने खेलको अधिकांश समय बेन्चमै रहे।
खेलको २३औं मिनेटमा फर्मिन लोपेजको मिस भएको प्रहारलाई फेरेन टोरेसले गोलमा परिणत गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३०औं मिनेटमा राफिन्हाको पासमा फर्मिनले सुन्दर कर्लिङ गोल गरे। त्यसको चार मिनेटपछि रूनी बार्डघ्जीले एथलेटिकका गोलकिपर उनाइ सिमोनको मुनिबाट बल छिराउँदै तेस्रो गोल थपे।
३८औं मिनेटमा राफिन्हाले शक्तिशाली प्रहारमार्फत आफ्नो पहिलो गोल गरे भने ५२औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको विशाल जित सुनिश्चित गरे।
खेलपछि राफिन्हाले भने,‘हामीले खेललाई सजिलो रूपमा लिएका थियौं। जब हामी राम्रो खेल्छौं, खेल आफैं सजिलो हुन्छ। हामी आफ्नै खेलमा केन्द्रित छौं र अर्को सेमिफाइनलको विजेतासँग खेल्न तयार छौं।’
यस सिजनको सुरुआतमा चोटका कारण करिब ६ हप्ता मैदानबाहिर रहेका राफिन्हा डिसेम्बरको सुरुमा फर्किएपछि उत्कृष्ट फर्ममा छन्। गत सिजन बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनी सुपर कप जित्दा उनको गोल र नेतृत्व महत्त्वपूर्ण रहेको थियो।
ढिलो समयमा मैदान प्रवेश गरेका यमल आइतबार हुने फाइनलमा फिट रहने अपेक्षा गरिएको छ। फाइनलमा बार्सिलोनाले रियल मड्रिड वा एट्लेटिको मड्रिडमध्ये एकसँग खेल्नेछ। यी दुई टोली बिहीबार सेमिफाइनलमा आमनेसामने हुनेछन्।
एथलेटिकका स्पेनिश फरवार्ड निको विलियम्स ग्रोइन चोटका कारण पुरै खेल बेन्चमै सीमित रहे। एथलेटिकका गोलकिपर उनाइ सिमोनले भने,‘यो निकै कठिन हार हो। पाँच गोल खाँदा कुनै एक खेलाडीलाई दोष दिन मिल्दैन। यसको अर्थ सम्पूर्ण टोलीले राम्रो खेल्न सकेन।’
हाल बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने एथलेटिक बिलबाओ आठौं स्थानमा रहँदै युरोपियन प्रतियोगिताको स्थानका लागि संघर्षरत छ।






-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)




