दुई डिफेन्डरको चोटले झट्कामा सिटी

काठमाडौं। लिग उपाधि पुनः जित्ने अभियानमा रहेको म्यानचेस्टर सिटीलाई ठूलो धक्का लागेको छ।
टोलीका दुई मुख्य डिफेन्डर चोटका कारण लामो समय मैदानबाहिर रहने भएका छन्। पोर्चुगिज डिफेन्डर रुबेन डियास ह्यामस्ट्रिङको चोटका कारण ४ देखि ६ हप्तासम्म खेल्न नपाउने भएका छन् भने क्रोएसियन डिफेन्डर योश्को ग्भार्दियोलको ‘शिनबोन’ भाँचिएकाले लामो समयका लागि बाहिरिएका छन्।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो जानकारी स्वयं दिएका हुन्। गत आइतबार (४ जनवरी) प्रिमियर लिगअन्तर्गत चेल्सीसँग १–१ को बराबरी खेलिएको खेलमै सिटीका यी दुई डिफेन्डर चोटग्रस्त भएका थिए। सुरुआती एकादशका महत्त्वपूर्ण खेलाडी गुमाउनु सिटीका लागि ठूलो चुनौती बनेको छ।
२० खेल सकिँदा ४२ अंकसहित सिटी तालिकाको दोस्रो स्थानमा छ। समान खेलमा ६ अंक बढी जोडेको मिकेल आर्टेटाको आर्सनल शीर्ष स्थानमा छ।
प्रिमियर लिगमा लगातार दुई बराबरीपछि सिटीले बुधबार (७ जनवरी) ब्राइटन एन्ड होभ एल्बियनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलअघि भएको पत्रकार सम्मेलनमा ग्वार्डिओलाले चोटसम्बन्धी अपडेट दिँदै भने, ‘डियास ह्यामस्ट्रिङ समस्याका कारण चारदेखि छ हप्ता बाहिर रहनेछन्। ग्भार्दियोल लामो समय मैदानबाहिर रहनेछन्। जोन स्टोन्सको अवस्थाबारे अहिले केही भन्न सकिँदैन, उनी अर्को खेलका लागि तयार छैनन्। नाथान आके भने ठीक छन्।’
ग्वार्डिओलाले थपे, ‘हाम्रो टिम स्पिरिट बलियो छ, हामी यो परिस्थितिसँग अनुकूलन गर्न सक्छौं। थकानलाई ध्यानमा राख्दै नयाँ अनुहारहरूलाई मौका दिनुपर्ने हुन सक्छ, त्यसबारे निर्णय भोलि लिनेछौं।’








-1767924589079.webp&w=3840&q=75)



-1767923977114.webp&w=3840&q=75)
