टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

हिमालयन मनोज, लमजुङ। ठाडाराई समाजलाई टाइब्रेकरमा पराजित गर्दै साबिक विजेता एपीएफ क्लब ३३औं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बेशिसहरस्थित त्रिवेणी रंगशालामा बिहीबार सम्पन्न खेलमा एपीएफले ५–४ को जित निकालेको हो। एपीएफका सुमन श्रेष्ठ, दीपेश धिमाल, प्रदीप लामा, मणिकुमार लामा र सन्तोष खत्रीले गोल गरे।
ठाडाराईका आषिश चापागाईं, शिसिर लेखी, करिम र देवेन्द्र तामाङले गोल गरे। तर, उत्सव राईले भने गोल गर्न सकेनन्।
अब एपीएफले फाइनल पुग्न आयोजक त्रिवेणी युथ क्लब र लम्जुङ मर्स्याङ्दीबीचको विजेतासँग खेल्नेछ।
कार्डको वर्षा भएको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो। चौथो मिनेटमै यामीले गोल गर्दै ठाडाराईलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ४९औं मिनेटमा प्रदीपले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए। यो खेलमा एपीएफका मणि र प्रदीपसँगै बुद्धिमान राई र दीपेश धिमालले पहेंलो कार्ड पाए।
ठाडाराईका देवेन्द्र र यमीलाई पनि यही कार्ड देखाइएको थियो।












