काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदको मिति अझै अनिश्चित बनेको छ । बिहिबार बसेको राष्ट्रिय खेलकुद परिषद् राखेपका कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको मिति तय गर्न सकेन ।
नेपालगञ्ज रंगशालाको भीआईपीतर्फको प्याराफिट बन्ने समयको टुङ्गो नलागेकाले मिति तय हुन नसकेको हो । प्याराफिटको सामान भारतको कोलकत्ता बन्दरगाहामा रोकिएकाले पुर्वाधार निर्माण सम्पन्न हुने समय एकिन हुन सकेको छैन ।
सोही कारण आठौंको मिति तय गर्न बसेको कार्यकारी समितिको बैठकले निर्णय गर्न सकेन । बैठकले प्रतियोगिताका लागि प्रदेश छनोटको बिषयमा भने निर्णय गरेको छ ।
राखेप प्रेस सल्लाहाकार रोहित दाहालले प्रदेश छनोट फागुन ३ गतेबाट १७ सम्म गर्ने निर्णय भएको खेलपाटीलाई जानकारी दिए । यस्तै बैठकले प्रदेश छनोटको उद्घाटन स्थल र मितिको समेत तय गरेको छ ।
प्रदेश एकको विरगञ्जमा फागुन ७ गते, प्रदेश दुईको विरगन्जमा फागुन ५ गते, प्रदेश ३ को चितवनमा फागुन ६ गते, प्रदेश ४ को पोखरामा ४ गते, प्रदेश ५ को बाँकेमा ११ गते, कर्णाली प्रदेशको सुर्खेतमा १३ गते र सुदुरपश्चिको धनगढीमा ३ गते प्रदेश छनोटको उद्घाटन हुनेछ ।
यस्तै बैठकले प्रतियोगिता सञ्चालनमा करिब ४७ करोड लाग्ने निर्णय समेत गरेको छ ।