३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

काठमाडौं। लगभग ३२ महिनादेखि नेपाललाई पराजित गर्न नसकेको युएईले आफ्नो हारको शृंखला तोड्दै मिठो बदला लिन सफल भएको छ।
युएईले अन्तिम पटक ६ मार्च २०२३ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा आयोजित आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाललाई ४२ रनले हराएको थियो।
त्यसपछि युएईविरुद्धका पाँचै खेलमा नेपालले लगातार जित हात पारेको थियो। तर, बिहीबार युएईले पुनः नेपाललाई ५ विकेटले हराउँदै त्यो अपराजित यात्रामा पूर्णविराम लगाएको हो।
२३४ रनको मध्यम लक्ष्य पछ्याएको युएईले ओभरमा ५ विकेट गुमाउँदै २३७ रन बनायो।
जितसँगै अंक तालिकाको पुछारमा रहेको युएईलाई केही राहत मिलेको छ। युएईले १८ खेलबाट ८ अंक पुर्याएको छ। जारी भ्रमणमा नेपालको यो दोस्रो हार हो। यसअघि अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो।
समान खेलबाट १२ अंक रहेको नेपाल सातौं स्थानमा यथावत् छ।
युएईलाई जित दिलाउन आर्यान्श शर्माले ९८ रनको उत्कृष्ट इनिङ्स खेले। ९८ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। उनलाई लेग स्पिनर सन्दीप लामिछानेले शतक बनाउनबाट बञ्चित गरे।
यद्यपि, सन्दीपको उक्त क्याच एन्ड बोल्डबाट युएईलाई कुनै असर परेन। अलिशान शराफुले २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन बनाइदिसकेका थिए।
उनीबाहेक मोहम्मद वासिम २६, कप्तान राहुल चोपरा १५, हर्षित कौशिक १३ रनमा आउट भए।
यता, धुर्व पराशर १६ र जाहिद अली ११ रनमा अविजित रहन सफल भए।
नेपालका सन्दीपले सर्वाधिक दुई विकेट लिए। उनले आफ्नो १० ओभरमा ३४ रन खर्चिए। करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक १०९ रन बनाए। १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
उनको यो करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए।
त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुन: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन्। योसँगै उनी दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
तर, उनको यो इनिङ्सले नेपाललाई ठूलो स्कोरसम्म पुर्याउन सकेन। ओपनर आसिफ शेखले ४८ बलमा ४ चौकासहित ३५ रनको योगदान दिए।
उनीबाहेक आरिफ शेख २७, दीपेन्द्र २३ रनमा आउट हुँदा करणले १३ रन थपिदिए।
नेपाललाई सस्तैमा रोक्न जाहिद अलीले सर्वाधिक ४ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले १ मेडनसहित २४ रन खर्चिए।
जुनैद सिद्दिकीले ३ तथा मुहम्मद राशिद र हैदर अलीले समान १ विकेट राखे। अब नेपालले शनिबार अमेरिका र बुधबार युएईसँग खेल्नेछ। त्योसँगै नेपालको युएई भ्रमण सकिने छ।









copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1761808270369.png&w=3840&q=75)
