काठमाडौं । साहसिक तथा आध्यात्मिक साइकल यात्राको दोस्रो संस्करण 'ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेन बाइक र्याली' चैत दोस्रो साता आयोजना भएको छ ।
आयोजक बुद्धिष्ट सर्किट्स डट कमले बुधबार पत्रकार सम्मेलन गर्दै माउन्टेन बाइक र्याली चैत ३ देखि ६ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
र्याली स्वयम्भुनाथ चैत्य परिसरबाट सुरु भएर लुम्बिनी पुगेर सकिने ग्रेट बुद्धिष्ट ट्रेलका परिकल्पनाकार तथा बुद्धिष्ट सर्किट्स डट कमका संस्थापक बिक्रम पाँडेकाजीले बताए ।
'नेवा सभ्यता शुरुवात भएको बिश्वास गरिएको स्वयम्भुनाथ चैत्य परिसरबाट शुरु हुने यो यात्रा शाक्य सभ्यताको एक महत्वपूर्ण स्थल लुम्बिनीमा पुगी अन्त्य हुनेछ,' पत्रकार सम्मेलनमा पाँडेकाजीले भने, 'यस साहसिक तथा आध्यात्मिक खेल गतिबिधिको मुख्य उद्देश्य लुम्बिनी-कपिलवस्तु क्षेत्रमा पर्यटकको संख्या तथा बसाइ बढाई, लुकेका बौद्ध सम्पदाहरुलाई प्रचारमा ल्याई स्थानियहरुलाई आयआर्जन को मौका दिनु हो।'
र्यालीको पहिलो दिन सहभागीहरु स्वयम्भुबाट साइकल कुदाउँदै चन्द्रागिरी केवलकार स्टेसन पुग्नेछन् । केवलकार प्रयोग गरि चन्द्रागिरी पुगेपछि 'डाउनहिल राइड' गर्दै कुलेखानी र दामन हुँदै हेटौंडा पुगि बास बस्नेछन् । दोस्रो दिन नारायणघाट हुँदै कावासोतीमा बास बसी तेस्रो दिन देवदह, रामग्राम लगायतका बौद्धस्थल हुँदै लुम्बिनीमा पुगी यात्रा समापन हुनेछ ।
चैत ६ गते सबै यात्रीहरु साइक्लिंग प्रतिस्पर्धामा सहभागी हुनेछन् । मायादेवी पबित्र उद्यानलाइ सात फन्को लगाई सहभागीहरुले ७७.७७ किमीको दुरी पार गर्ने र्यालीका संयोजक दिपक राईले जानकारी गराए ।
साइक्लिङ्ग प्रतियोगितामा पुरुष र महिलाको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवै विधामा प्रथम हुनेले ७७ हजार ७७७, द्वितीयले ५५ हजार ५५५ र तृतीयले ३३ हजार ३३३ नगद मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।
यस पटक करिब ७० साइक्लिस्ट सहभागी हुने संयोजक राईले बताए । गत बर्षको र्यालीको ५० भन्दा बढी बाइकर्स सहभागिता रहेको थियो ।