काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाभित्रको भएको भनिएको भ्रष्टाचारको छानबिन सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र भ्रष्टाचारको बिषयमा अनुसन्धान अघि बढाएको हो ।
एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवर र चार जिल्ला फुटबल संघले फुटबल संघभित्र व्यापक आर्थिक अनियमितिता भएको दाबी गर्दै खेलकुद मन्त्रालय, राखेप लगायतका संस्थामा उजुरी गरेपछि सरकारले घटनाको छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, उपसचिव समन्तमणी आचार्य र संघ संस्था विभागका प्रमुख डेमबहादुर बस्नेत रहेका छन् ।
‘प्रारम्भिक रुपमा घटनाको बिषयमा तथ्याङ संकलनको काम सुरु भएको छ । सबै तथ्याङ संकलन गरेर विश्लेषण गर्ने काम अघि बढ्छ ।’ समितिका एक सदस्यले खेलपाटीलाई भने ।
एन्फामाथि लागेको आरोपका बिषय धेरै भएकाले निर्धारित समयमा छानविन नसकिने समितिको निष्कर्श छ । सरकारले दस दिन भित्र छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको थियो । तर निर्धारित समयमा प्रतिवेदन बुझाउन नसकिने समितिका एक सदस्यले बताए ।
चार जिल्ला फुटबल संघले एन्फा निर्वाचनमा आर्थिक लेनदेन भएको दाबी सहित संघको नयाँ कार्यसमितिले विभिन्न शीर्षकमा भ्रष्टचार गरेको आरोप लगाएको थियो ।
चार जिल्ला फुटबल संघले एएफसी र साफका प्रतियोगिता नेपालमा आयोजना गर्दा होटल बिलमा हिनामिना गरेको लगायतका आरोप वर्तमान नेतृत्वमाथि लगाएको थियो ।
एन्फाको वर्तमान कार्यसमितिे पत्रकारसम्मेलन गर्दै आफुहरु माथि लागेको आरोप निराधार भएको दाबी गरेको थियो । निर्वाचनबाट पराजित भएका विक्षिप्त मानसिकताका केही मानिसले फुटबल संघलाई बदनाम गराउन आरोपको श्रृङ्खला सुरु गरेको एन्फाले बताउदै आएको छ ।