चार खेलाडीले विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने

काठमाडौं। नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन् ।
विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बूढाले चुनौती पेश गर्ने भएका हुन् ।
स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुँदैछ । भिसाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरीयताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।
नेपाल नम्बर वान कुलुङ एसिया वरीयताका समेत एक नम्बरका खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी बूढा एसिया वरीयताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारै जना खेलाडीले सिंगल लामो दूरीको ट्रेल रनको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
संघका अध्यक्ष यकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्व स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । ‘फरक खेल विधाको रुपमा एडभेन्चर रनिङबाट नेपाली खेलाडीहरुले पुन विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेश गर्दैछन् ।’ अध्यक्ष कुँवरले भने, ‘नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडीको विश्वस्तरीय प्रर्दशनलाई सहयोग गर्न आवश्यक पूर्वाधार निर्माण गर्दै अन्तराष्ट्रिय पहुँच सुधार गर्न निरन्तर काम गरिरहेको छ ।’