२७ बलमै हार्यो युएई

काठमाडौं। साबिक विजेता भारतले संयुक्त अरब इमिरेट्स (युएई)लाई २७ बलमै पराजित गर्दै एसिया कपमा सुखद् सुरुआत गरेको छ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको युएईको ओपनरले केही आशा जगाए पनि सम्पूर्ण टिम १३.१ ओभरमै ५७ रनमा समेटियो।
ओपनर अलिशान सराफुले १७ बलमा २२ रन र कप्तान मोहम्मद वासिमले २२ बलमा १९ रन बनाए। बाँकी ब्याटरहरू भने भारतीय बलरहरूसामु टिक्न सकेनन्।
भारतका लागि कूलदीप यादवले ४ विकेट लिए भने शिवम दुबेले ३ विकेट हात पारे। यसैगरी भरण चक्रवर्ती, अक्षर पटेल र जसप्रीत बुमराहले समान १–१ विकेट लिए।
५८ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको भारतले सुरुबाटै आक्रामक खेल प्रस्तुत गर्यो। पहिलो बलमै अभिषेक शर्माले छक्का प्रहार गरे र दोस्रो बलमा चौका हाने।
उनले १६ बलमा ३० रन बनाए। त्यसपछि सूर्यकुमार यादवले २ बलमा ७ रन थप्दै जित सुनिश्चित गरिदिए। शुभमन गिल ९ बलमा २० रन बनाएर अविजित रहे।