द्रविडले राजस्थान छाडे

काठमाडौं। राहुल द्रविडको राजस्थान रोयल्सको मुख्य प्रशिक्षकको कार्यकाल एक सिजनमै सकिएको छ।
शनिबार जारी गरेको विज्ञप्तिमा फ्रेन्चाइजले द्रविडलाई टोलीभित्र अझै व्यापक भूमिकाको प्रस्ताव गरेको तर उनले त्यसलाई अस्वीकार गरेको जनाएको छ।
द्रविडको बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको भए पनि उनको बिदाइ टोलीको संरचनागत समीक्षापछि भएको हो।
सन् २०२५ को आइपिएलमा राजस्थान नवौँ स्थानमा सीमित भयो। सन् २०२१ यता उनीहरूको सबैभन्दा कमजोर प्रदर्शन रह्यो। १४ खेलमध्ये जम्मा चार जित हात पारेको थियोे।
यसअघि नै टोलीका कप्तान सञ्जु सामसनले पनि आगामी सिजनअघि आफूलाई रिलिज गर्न आग्रह गरेका थिए।
“मुख्य प्रशिक्षक राहुल द्रविड आइपिएल २०२६ अघि फ्रेन्चाइजबाट अलग हुनेछन्,” विज्ञप्तिमा भनिएको छ, “राहुल रोयल्सको यात्रामा वर्षौंदेखि केन्द्रीय पात्र रहँदै आएका छन्। उनको नेतृत्वले एक पुस्तालाई प्रभाव पारेको छ, टोलीभित्र दृढ मूल्यहरू स्थापित गरेको छ र फ्रेन्चाइजको संस्कृतिमा अमिट छाप छोडेको छ।”
संरचनागत समीक्षाको क्रममा द्रविडलाई फ्रेन्चाइजमा अझ ठूलो पदको प्रस्ताव गरिएको भए पनि उनले स्वीकार नगरेको जनाइएको छ। “राहुललाई फ्रेन्चाइज, खेलाडीहरू र विश्वभरका लाखौं समर्थकले उनको असाधारण योगदानप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
द्रविडले यस सिजन अघिको तीन वर्षे चक्रका लागि रिटेन्सन र नीलामी रणनीति तय गर्नेमा पनि प्रमुख भूमिका खेलेका थिए।