हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण

काठमाडौं। नेपालले हारसँगै आफ्नो अस्ट्रेलिया भ्रमण सक्काएको छ।
टप इन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया पुगेको नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग १ रनको पराजित बेहोरेको हो। चौथो पराजयसँगै ६ खेलमा ४ अंक जोडेको नेपाल समूह चरणबाटै बाहिरिएको हो।
पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो। नेपाललाई अन्तिम बलमा ३ रन चाहिएको थियो। तर, उक्त रन निकाल्न सकेन।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५२ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे। उपकप्तान दीपेन्द्रसिंह ऐरी ४१, आशिफ शेख २७ र लोकेश बम १० रनमा आउट भए।
पाकिस्तानका मोहम्मद वासिम र फैसल अक्ररमले समान २ विकेट लिए। मोहम्मद सलमानको नाममा १ विकेट रह्यो।
त्यसअघि डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।
पाकिस्तानका कप्तान इरफान खानले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए। अब्दुल समाद २६, मोहम्मद वासिम २३, यासिर खान १८ र मेहरन मुम्ताज १० रनमा पभिलियन फर्किए।
नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादव र दीपेन्द्रसिंह ऐरीको नाममा समान २ तथा कुशल भुर्तेलको नाममा १ विकेट रह्यो।