एडी मर्कक्सको उत्तराधिकारी पोगाचार

काठमाडौं। स्लोभेनियाका टाडेज पोगाचार अहिलेका साइकल खेलका यथार्थ पुस्तागत महान् खेलाडी हुन् भन्दा फरक नपर्ला।
उनले आइतबार चौथो पटक टुर डे फ्रान्स जिते। योसँगै उनले आफूलाई महान् साइकलिस्ट एडी मर्कक्सको उत्तराधिकारी साबित गरेका छन्।
फ्रान्सभरि गरिएको सानदार प्रदर्शनका क्रममा कहिलेकाहीँ लुब्लियानाका पहाडमा आफ्नो दाजुलाई हराउन चाहने केटोको झल्को उनले देखिन्थे। तर, अब २६ वर्षको उमेरमा पोगाचारले आफ्नो पुरानो आवेग नियन्त्रण गर्न सिकेका छन्, जुन कहिलेकाहीँ उनलाई जिततर्फ लैजान्थ्यो त कहिलेकाहीँ हारको कारण बन्थ्यो।
२०२४ मा उनले जिरो डि इटालिया, टुर डे फ्रान्स र विश्व च्याम्पियनसिप जिते, जुन साइकलिङको ट्रिपल क्राउन भनेर चिनिन्छ। यसअघि यो कीर्तिमान सन् १९७४ मा एडी मर्कक्स र १९८७ मा स्टेफन रोचेले मात्र बनाएका थिए।
पोगाचारको वर्चस्वमा कुनै शंका छैन। तर, सामाजिक सञ्जालमा उठ्ने पुरानै प्रश्न फेरि दोहोरिएको छ– के उनी साँच्चै नै स्वच्छ खेलाडी हुन्?
पोगाचार एक सबै खालको रेस जित्न सक्ने बहुमुखी साइकल चालक हुन्। पहाडी चढाइ र फ्ल्याट स्प्रिन्टलगायत सबैमा उनी उत्तिकै अब्बल छन्। अझ महत्त्वपूर्ण कुरा अहिलेसम्म उनी कुनै डोपिङ परीक्षणमा असफल भएका छैनन्।
‘म राम्रो परिवारको राम्रै सन्तान हुँ, जीवनमा छोटो बाटो लिएको छैन,’ उनले एएफपीसँग भनेका छन्। उनका बुबा फर्निचर डिजाइनर हुन् भने आमा स्कुल शिक्षिका। उनीहरू अहिले पनि लुब्लियानाको बाहिर पहाडी गाउँमै बस्छन्। पोगाचार आफू पनि मोनाकोमा आफ्नी प्रेमीका तथा प्रो साइकलिस्ट उर्स्का जिगार्टसँग बस्ने गर्छन्।
अस्ट्रेलियाका साइकलिस्ट तथा पोगाचारका साथी माइकल म्याथ्युजका अनुसार उनी अहिलेसम्म उस्तै विनम्र छन्। जितमा रमाउँछन्, खेलमा मजा लिन्छन्। पोगाचारको टिम युएईका लागि उनले गत नोभेम्बरमा ५४ मिलियन डलर बराबरको ६ वर्षे सम्झौता गरेका थिए।
उनका टिममेट पाभेल सिभाकोभले एएफपीसँग भने, ‘पोगाचार सकारात्मक सोच भएका, सजिलो व्यवहार गर्ने र टिमको वातावरणमा राम्रो प्रभाव पार्ने व्यक्ति हुन्।’
पोगाचार अझै पनि आफ्नो साइकलमा ‘इनक्रेडिबल हल्क’ को स्टिकर लगाउँछन्। ‘हल्क त्यो पात्र हो, जसलाई रिसाउन नदिनु राम्रो हो,’ उनले हाँस्दै भने।
योनास भिङेगार्डसँगको प्रतिद्वन्द्विताले टिम युएईलाई बलियो बनाएको छ। कतिपयले उनलाई घमण्डी भनेर आलोचना गर्छन्। तर, पोगाचार त्यसको खण्डन गर्छन्। उनी भन्छन्, ‘टुर डे फ्रान्स जित्ने प्रयास र घमण्डपन फरक कुरा हुन्।’
उनका साथी स्लोभेनियाली साइकलिस्ट माटेज मोहोरिकले उनी साँचिकै महान् खेलाडी मान्छन्। उनी भन्छन्,‘पोगाचारभित्र अद्भुत क्षमता छ। त्यस क्षमतालाई प्रयोग गर्ने बुद्धि पनि छ।’
पोगाचार अहिलेसम्म छुट्टीको कुनै योजना बनाएका छैनन्। सायद अब भुएल्टा (स्पेनी टुर) पनि खेल्नेछन्। यो स्पर्धा अगस्ट २३ देखि सुरु हुँदैछ।
उनले सेप्टेम्बरमा रुवान्डाको राजधानी किगालीमा विश्व रोड रेस उपाधि रक्षा गर्न पनि प्रतिस्पर्धा गर्नेछन्।








-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)

