आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन

काठमाडौं। आशिष भारती र वर्षा बस्नेतले बागमती अटो–जिमखाना च्याम्पियनसिपको उपाधि जितेका छन्।
बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोट्र्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनमा बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्यालीको पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो भए। महिलातर्फ विपाश्ना तामाङले वर्षा बस्नेतलाई पछ्याइन्।
टिडिएस र्यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडीले उपाधि हासिल गरे भने विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पुजा पाख्रिन र नविन लामा तेस्रो स्थानमा रहे।
पुरुषतर्फ १७ र महिलातर्फ ६ गरी कूल २३ ड्राइभरले अटो–जिमखानामा प्रतिस्पर्धा गरेका थिए। जसमा पुरुषतर्फ क्वालिफाइङ राउण्डपछि शीर्ष ८ ड्राइभर फाइनल चरणमा पुगेका थिए। महिलातर्फ भने ६ जना ड्राइभर नै प्रारम्भिक चरणपछि फाइनल चरणमा पुगेका थिए।
क्वालिफाइङ चरणमा पनि शीर्ष स्थानमा रहेका आशिषले अन्तिम चरणमा पनि उत्कृष्ट लय कायम राख्दै अन्य ड्राइभर भन्दा उत्कृष्ट समय निकाल्दै उपाधि जिते। पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठले तेस्रो भए।
यस्तै महिलातर्फ प्रारम्भिक चरणमा विपाश्ना तामाङ शीर्ष स्थानमा रहेकी थिइन् तर अन्तिम चरणमा वर्षाले उत्कृष्ट समय निकाल्दै बाजी मारिन् र बेस्ट फिमेल ड्राइभर अवार्ड प्राप्त गरिन्।
अटो–जिमखानाका पुरुषतर्फ विजेता आशिषले नगद १ लाख, दोस्रो राजकुमारले ५० हजार प्राप्त गरे। महिलातर्फ बेष्ट फिमेल ड्राइभर अवार्ड सहित वर्षाले नगद ५० हजार प्राप्त गरिन्। सबै विजेताहरुले सर्टिफिकेट, सिल्ड र गिफ्ट ह्याम्पर प्राप्त गरे।
यस्तै, अटो–जिमखाना च्याम्पियनसिप अघि सम्पन्न टिडिएस (टाइम–डिस्ट्यान्स–स्पिड) मोटर र्यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडी पहिलो, विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पूजा पाख्रिन र नविन लामा तेस्रो स्थान प्राप्त गरे।।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य रामचन्द्र श्रेष्ठ, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल एसोसिएसनका सचिव महेश अधिकारी र सन्तोष न्यौपाने, कोषाध्यक्ष मनि नेपाल, सह–कोषाध्यक्ष कमला क्षेत्री, बागमति अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र पचाछे र सचिव यज्ञप्रसाद पौडेल तथा मोटोभर्स स्पोट्र्स क्लबका अध्यक्ष आशिष रौनियार र जियोन ओभरल्याण्डका संचालक जियोन लगायतले पुरस्कृत गरे।