काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता महिला साफको भौतिक पुर्वाधार निर्माणको काम फागुन १५ गते भित्र सक्ने निर्णय भएको छ । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा बुधबार बिराटनगरमा बसेको साफको समन्व्य समितिको बैठकले प्रतियोगिताको १५ दिन अगावै भौतिक पुर्वाधार निर्माणको काम सम्पन्न गर्ने निर्णय गरेको हो ।
नेपालले आयोजना गर्ने महिला साफ फुटबल फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा सञ्चालन हुदैछ ।
साफको तयारीको समिक्षा गर्न मुख्यमन्त्री सहित सरोकारवाला पक्षको बैठक विराटनगरमा बसेको थियो । बैठक अगाडी मुख्य मन्त्री राई सहित सरोकारवाला निकायका प्रमुखले भौतिक पुर्वाधार लगायत विभिन्न तयारीको निरिक्षण गरेका थिए ।
मुख्य मन्त्री सहितको टोलीले रंगशालाको मैदान, ड्रेसिङ रुम, मिडिया रुम, रंगशालाको रंगरोहन, सरसफाई, होटल र अभ्यास मैदानबाट रंगशालासम्मको सडक निर्माणको अवलोकन गरेको थियो ।
बैठकले फागुन १५ भित्र पुर्वाधार निर्माणको काम सक्ने गरि मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको एन्फाका प्रवक्ता किरण राईले खेलपाटीलाई बताए । प्रतियोगिताको संयोजनको जिम्मेवारी विराटनगर महानगरपालिकाले पाएको छ । सोही अनुसार महानगरले भौतिक पुर्वाधार देखि प्रतियोगितालाई आवश्यक पर्ने सम्पुर्ण तयारी अगाडी बढाएको छ ।
बैठकमा मुख्यमन्त्री राईले साफ प्रतियोगिता प्रदेश र देशकै प्रतिष्ठाको बिषय भएको उल्लेख गर्दै प्रतियोगिताको आयोजना कुनै हिसाबले फितला हुन नहुने बताएका थिए । उनले तोकिएको काम समयमै गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
‘साफ प्रदेशको प्रतिष्ठाको बिषय हो । देशकै प्रतिष्ठाको बिषय हो । सबै खालको सुरक्षा, आर्थिक, भौतिक, कुनै कारणले प्रतियोगिता फितलो हुनुहुदैन । सरकारले पुर्ण रुपमा सहयोग गर्छ ।’ मुख्यमन्त्रीको भनाई उद्वित गर्दै एन्फा प्रवक्ता राईले भने ।