काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे। पहिलो दिन पुरुष/महिलातर्फ टिम इभेन्टका लिग चरणका खेल भए।
प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ८५ खेलाडी सहभागी छन्। नेपालबाट यु–१९ पुरुषमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जन तथा महिलामा इभाना थापा, वियंका राई, योङगी पौडेल र दिया देउला सहभागी छन्।
यु–१५ पुरुषमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य तथा महिलामा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्यले खेललिरहेका छन्।
आइतबारसम्म हुने प्रतियोगितामा यु–१९ र यु–१५ उमेरसमूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी जम्मा १४ स्पर्धा समावेश छन्। प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसको छनोटका रुपमा समेत रहेको आयोजकले जनाएको छ।