काठमाडौं। सातौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप र पहिलो पारा जुडो च्यामिपयनसिप बुधबारदेखि सुरु हुने भएको छ।
नेपाल जुडो महासंघको प्राविधिक सहयोगमा नेपाल खेलकुद महासंघ, नेपाल बहिरा तथा दृष्टिविहिन पारा जुडो संघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।
खुशिबुँस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा हुने प्रतियोगिताबाट जापानमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने छ।
प्रतियोगितामा भुटान र थाइल्यान्डसहित नेपालका जिल्ला, क्लब, डोजो, विद्यालय, संघ सस्थासहित ३५ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ११ तौल समूह समावेश गरिएको छ। पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६६,७३ केजीमुनि र खुला तथा महिलार्फत २८, ३२, ३६, ४०, ४४, ४८, ५२, ५५, ६३ केजीमुनि, ६३ केजीमाथि र खुलामा प्रतिस्पर्धा हुनेछ।
यस्तै, पारा जुडो च्याम्पियनसिपमा पुरुषतर्फ ६० केजीमुनि तथा महिलातर्फ ५२ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गराइने छ।