काठमाडौं। लेबनानी फरवार्ड अहमद हिजाजीको दुई गोलसँगै साबिक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गरेको हो। योसँगै धनगढीले पहिलो खेलमै तीन अंक जोडेको छ।
बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो। धनगढीको जितमा हिजाजीबाहेक कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजुले एक गोल थपे।
बुटवलका केन्टा हाराले एक गोल फर्काए पनि सान्त्वना रह्यो। खेलको छैटौं मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए। मोहमद अल जाउएनीले उपलब्ध गराएको लङ पासमा हिजाजीले बक्सबाट ‘एक्रोबेटिक’ गोल गरे।
उनको प्रहारलाई रोक्न बुटवलका गोलकिपर दीप कार्कीले कुनै अवसर नै पाएनन्। तर, ३१औं मिनेटमा केन्टा गोल गर्दै बुटवललाई खेलमा फर्काए। उनले ब्याक हिलमार्फत उत्कृष्ट गोल गरेका हुन्।
७५औं मिनेटमा मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए। कप्तान देवेन्द्र तामाङले उपलब्ध गराइदिएको बलमा उनले मैदानको मध्यभागबाट बल एक्लै लैजाँदै सोलो गोल गरे।
इन्जुरी समयको छैटौं मिनेटमा हिजाजीले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल थपे। मोहमदले मध्यभागबाट दिएको लङ बललाई हिजाजीले खाली पोस्ट गोल गरे।
खेल सकिन केही सेकेन्ड बाँकी रहँदा ब्राजिलियन खेलाडी सर्जियोले अर्को गोल थप्दै ४–१ को फराकिलो जित पक्का गरे। जारी प्रतियोगितामा धेरै गोल भएको यो नै पहिलो खेल हो।