काठमाडौं। श्री कुमारी क्बललाई पराजित गर्दै श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा भगवतीले २–० को जित निकालेको हो।
यो नतिजासँगै भगवतीले चार खेलबाट १० अंक पुर्याएको छ। एक खेल कम खेलेको प्लानिङ ब्वाइजको भने नौ अंक छ। पराजित कुमारी भने अंकविहीन छ।
भगवतीको जितमा सिलेमन थापामगर र अमित लामाले गोल गरे। खेलको १४औं मिनेटमा नै उनले भगवतीलाई सुरुआती अग्रता दिलाएका हुन्।
कप्तान दीपेश श्रेष्ठले सिक्स यार्ड बक्सभित्रबाट उपलब्ध गराएको बललाई उनले कुमारीका दुई डिफेन्डर र गोलकिपरसामु बललाई जाली चुमाएका हुन्।
६२औं मिनेटमा अमितले अग्रता दोब्बर बनाए। दिवश छन्त्यालको क्रसमा अमितले गोल गर्दै भगवतीलाई तेस्रो जित दिलाएका हुन्।