काठमाडौं। लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको छ।
तर, क्लबका मुख्य प्रशिक्षक आर्ने स्लटले क्लबको ध्यान उक्त चर्चाभन्दा पनि प्रिमियर लिगको उपाधि दौडमा केन्द्रित रहेको बताएका छन्।
‘हामीलाई यी हल्लाहरूले असर गर्दैन। आठ महिनादेखि यी कुराहरू भइरहेका छन्। तर, हामीले सधैं आफ्नो खेलमा ध्यान केन्द्रित गरेका छौं,’ स्लटले भने।
इङ्ग्ल्यान्डका डिफेन्डर अर्नोल्ड लामो समयदेखि रियल जाने चर्चा थियो। अहिले आएर २६ वर्षीय खेलाडी र स्पेनिस क्लबबीच वार्ता सकारात्मक दिशामा अगाडि बढेको बुझिएको छ।
अर्नोल्ड मात्रै होइन, मोहम्मद सालाह र भर्जिल भान डाइक पनि सिजनको अन्त्यमा सम्झौताबाट मुक्त हुने अवस्थामा छन्। तीनै खेलाडीले जनवरीदेखि विदेशी क्लबहरूसँग वार्ता गर्न पाउने नियम अनुरूप अन्य विकल्पहरूबारे पनि विचार गरिरहेका छन्।
लिभरपुलले बुधबारको मर्सीसाइड डर्बीमा एभर्टनको सामना गर्नेछ, जुन खेल प्रिमियर लिग उपाधि दौडका लागि महत्त्वपूर्ण हुनेछ।
‘दुर्भाग्यवश उनको (ट्रेन्ड) अवस्था त्यस्तै छ, किनभने उनी घाइते छन्। यदि उनी फिट हुन्थे भने इङ्ग्ल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गरिरहेको चर्चा हुने थियो,’ स्लटले भने।
लिभरपुल अहिले दोस्रो स्थानको आर्सनलभन्दा १२ अंकले अगाडि रहेको छ र लिगमा केवल नौ खेल बाँकी छन्।
स्लटले आफ्नो टिमको ध्यान उपाधि जित्नतर्फ नै रहेको बताउँदै भने, ‘हामी आगामी नौ खेलमा केन्द्रित छौं। खेलाडीहरू पनि ताजा महसुस गरिरहेका छन्।’
लिभरपुलको एभर्टनविरुद्धको खेल काराबाओ कप फाइनलमा न्यूकासलसँग पराजय र च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन पिएसजीसँग पेनाल्टीमा हारपछि पहिलो खेल हुनेछ।
‘हामी न्यूकासलविरुद्ध राम्रो खेलेका थियौं। पिएसजीविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्यौं,’ उनले भने।
स्लटलाई फेब्रुअरीमा एभर्टनसँग २–२ को बराबरी भएको खेलमा रातो कार्ड देखाइएको थियो। उनी दुई खेलको प्रतिबन्धपछि प्रिमियर लिगमा पुन: टचलाइनमा फर्किनेछन्।
‘म भविष्यमा यस्तै परिस्थितिमा भिन्न तरिकाले प्रतिक्रिया दिने प्रयास गर्नेछु। तर, म ग्यारेन्टी दिन सक्दिन,’ उनले भने। लिभरपुल अब उपाधि जित्नका लागि अन्तिम नौ खेल जित्नुपर्ने दबाबमा छ।